क्रिमिया पुललाई लक्षित गर्दै युक्रेनद्वारा एकै दिनमा १ हजार ३३६ ड्रोन प्रहार

लोकपथ
0
Shares

काठमाडौं । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गर्दै एकै दिनमा १ हजार ३३६ ड्रोन प्रहार गरेको छ । आक्रमणबाट पुलमा ठूलो क्षति भएको नदेखिए पनि रुसी अधिकारीहरूले सुरक्षा सतर्कता अपनाउँदै यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् ।

रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो । क्रिमियाका रुसी नियुक्त गभर्नर सेर्गेई अक्सियोनोभले आक्रमणमा मानवीय क्षति नभएको बताएका छन् ।

त्यस्तै, मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानी मस्कोतर्फ आएका करिब ६०० ड्रोन रोकिएको जानकारी दिएका छन् ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता क्रिमिया पुल युक्रेनको प्रमुख निशानामा पर्दै आएको छ । यसअघि सन् २०२२ अक्टोबरमा विस्फोटक पदार्थ बोकेको ट्रक पुलमा विस्फोट हुँदा त्यस क्षेत्रमा महिनौँसम्म यातायात आवागमन प्रभावित भएको थियो ।

युक्रेनले आफ्ना प्रत्याक्रमणलाई रुसले गर्दै आएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जवाफका रूपमा प्रस्तुत गर्दै आएको छ । किएभका अनुसार रुसी आक्रमणबाट युक्रेनी सहर र ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेको छ। सयौँ सर्वसाधारणको मृत्यु हुनुका साथै लाखौँ मानिस विद्युत् र ताप सुविधाबाट वञ्चित भएका छन् ।

यसैबीच, युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहे पनि ठोस प्रगति हुन सकेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विदेशी सेना तैनाथ गरिए त्यसलाई युद्ध जारी राख्ने कदमका रूपमा लिने चेतावनी दिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने अमेरिकाले युक्रेनलाई नेटो सदस्यता दिने प्रस्तावसँगै केही भूभाग छाड्न सुझाव दिएको बताएका छन् ।

चीनले नोभेम्बर १९ मा शेन्जेनमा राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्ने पुष्टि गरेको छ । बेइजिङका अनुसार उक्त भेटमा विश्व शान्तिका विषयमा छलफल हुनेछ । यद्यपि, अमेरिकी अधिकारीहरूले त्रिपक्षीय वार्तामा युक्रेन युद्ध मुख्य विषय बन्ने अपेक्षा नरहेको बताएका छन् ।

जेलेन्स्कीले भने उक्त बैठकप्रति चिन्ता व्यक्त गरेका छन् । उनले सन् १९४५ को याल्टा सम्मेलनमा जस्तै ठूला शक्तिहरूले साना देशको सहभागिताबिना उनीहरूको भविष्य निर्धारण गर्ने जोखिम रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?