काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षणलाई आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।
हस्तकला महासंघका पूर्वअध्यक्ष इन्द्रबहादुर शाक्य वंशद्वारा लिखित ‘नेपालको कला, संस्कृति, चाडपर्व, जात्रा र सम्पदाहरूको संग्रह’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले संस्कृति देशको पहिचान र सभ्यताको महत्वपूर्ण आधार भएको बताए ।
उनले नेपालको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणका लागि अनुसन्धान, अभिलेखीकरण र वैज्ञानिक अध्ययन आवश्यक रहेको बताए । यस्ता कामले भावी पुस्तालाई आफ्नो इतिहास र संस्कृतिबारे जानकारी दिन सहयोग पुग्ने उनको भनाइ थियो ।
अग्रवालले काठमाडौं उपत्यकाका जात्रा तथा पर्वले धार्मिक आस्था, सामाजिक एकता र प्राचीन सभ्यतालाई झल्काउने बताए । यस्ता परम्पराले नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको उनले उल्लेख गरे ।
उनका अनुसार तीव्र सहरीकरण, अव्यवस्थित विकास, जलवायु परिवर्तन, भूकम्प, आगलागी र वातावरणीय प्रदूषणका कारण सांस्कृतिक सम्पदामा जोखिम बढ्दै गएको छ । ऐतिहासिक बस्ती, मठमन्दिर, पाटी, पोखरी र पुराना संरचनाको संरक्षणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्ने र पर्याप्त बजेट छुट्याउनुपर्ने उनले बताए ।
सम्पदा संरक्षण सरकारको मात्रै जिम्मेवारी नभई स्थानीय समुदाय, निजी क्षेत्र, शैक्षिक संस्था र नागरिक समाजको पनि साझा दायित्व भएको उनले बताए । नयाँ पुस्तालाई आफ्नो इतिहास र संस्कृतिबारे जानकारी दिन विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा यस्ता विषय समावेश गर्नुपर्नेमा पनि उनले जोड दिए ।
त्यस्तै, परम्परागत कला र सीपलाई जोगाउन कलाकार, शिल्पकार, मूर्तिकार, काष्ठकर्मी तथा धातुकर्मीको आर्थिक र सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । पुराना सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके मौलिक कला संरक्षणमा सहयोग पुग्ने उनले बताए ।
अग्रवालले नेपालको सांस्कृतिक विविधता पर्यटन विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सम्पदामा आधारित पर्यटन प्रवर्द्धन गर्न सके रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलता विकासमा सहयोग पुग्ने बताए ।
सांस्कृतिक सम्पदाको संरक्षणसँगै आर्थिक गतिविधि बढाउन सके देशको दिगो विकासमा योगदान पुग्ने उनको भनाइ थियो । उनले पुस्तकका लेखक, अनुसन्धानकर्ता, प्रकाशक तथा सहयोगी सबैलाई बधाई दिँदै यस्ता प्रकाशनले नेपालको कला, संस्कृति र सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया