जनकपुर । धनुषाको शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न बसेका एक ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक स्थानीय रामजतन यादव हुन् । उनी पोखरीमा छठघाट निर्माण गरी एक्लै रेखदेखका लागि बसेका थिए । उनी आज बिहान करिब ६ बजे मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो चोट देखिएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको कमान्डमा कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको छ । घटनास्थलनजिकै पोखरीको पानीमा पराल काट्ने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया