काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको गति ठिक नभएको टिप्पणी गरेका छन् ।
छठ मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेका सभापति थापाले सरकारले ठिक ढंगले काम गर्न नसकेमा देशले दुःख पाउने बताए ।
सुविधापूर्ण बहुमत पाएको वर्तमान सरकार असफल भएमा देशले थप दुःख पाउने भन्दै आफूहरुले त्यसो नचाहेको समेत बताए ।
‘सरकार ठिक ढंगले चलेन भने देशले दुःख पाउँछ,’ उनले भने, ‘फेरि देशले दुख नपाओस् भन्ने हाम्रो कुरा हो । देशको समय खेर नजाओस् ।’
यसैगरी आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न समेत उनले पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
सभापति थापाले आगामी पुसको पहिलो साता कांग्रेसको जिल्ला अधिवेशन गर्ने र त्यसपछि प्रदेश अधिवेशन गर्ने जानकारी गराए ।
‘पुसको पहिलो साता हामी जिल्ला अधिवेशन गर्छौँ । त्यसको तीन चार दिनको अवधि राखेर हामी लगत्तै प्रदेशको अधिवेशन गर्छौँ । त्यसपछि त्यो दुई वटा निर्वाचन सकिसकेपछि हामी स्थानीय निर्वाचनका लागि जुट्छौँ,’ उनले भनेका छन् ।
आफू पराजित भए पनि सर्लाही क्षेत्र नं ४ को आफू प्रतिनिधि भएको र जनताको सुख दुखमा आफू निरन्तर साथमा रहने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया