कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै

लोकपथ
0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन् ।

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच जना सांसद सम्मेलनमा सहभागी हुन लागेका हुन् ।

टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा जलवायु परिवर्तनको असर कम गर्ने, त्यससँग अनुकूलन हुने, जलवायु वित्त, जलवायुजन्य क्षति तथा स्वच्छ ऊर्जामा रूपान्तरणलगायत विषयमा छलफल भइरहेको छ ।

सम्मेलनमा नेपालले हिमाल र हिमनदीको संरक्षण, जलवायु न्याय, अनुदानमा आधारित जलवायु वित्त तथा जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका विषयलाई प्राथमिकताका साथ उठाएको छ ।

समितिका सभापति चौधरीले सम्मेलनमा जलवायु परिवर्तनका चुनौती, संसदीय सहकार्य, क्षेत्रीय साझेदारी र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा सहभागिता जनाउनेछन् ।

सभामुखस्तरीय निर्णयअनुसार सम्मेलनमा सहभागी हुने सांसदहरूमा चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी रहेका छन् ।

सभापति चौधरीका अनुसार संघीय संसद् सचिवालयलाई कुनै आर्थिक भार नपर्ने गरी उनीहरू टर्की जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?