भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु, शवको पर्खाइमा आफन्त

लोकपथ
21
Shares

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको पर्खाइमा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलोसमेत बलेको छैन ।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको इभी बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनामा परेको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाको खबर फैलिएसँगै सुन्दरपुर गाउँको चहलपहल एकाएक शोकमा परिणत भएको छ । छठघाट निर्माण, गाउँघर सरसफाइ र पाहुनालाई निम्तो दिने तयारीमा जुटेका स्थानीय अहिले आफन्त गुमाउनुको पीडामा छन् ।

दुर्घटनामा छोरा र बुहारी गुमाएका प्रमोद यादवले बुधबार साँझ छोरा गुड्डु यादवले गाउँका साथीभाइसँगै परिवार भोलिपल्ट छठ मनाउन घर आउन लागेको जानकारी दिएको बताए । तर, बिहीबार बिहानै आएको दुर्घटनाको खबरले परिवारमा बज्रपात परेको उनको भनाइ छ ।

गुड्डु र उनकी श्रीमती गायत्री देवीका दुई छोरा सक्षम र सुजन पनि सोही गाडीमा सवार थिए । दुर्घटनामा पाँच वर्षीय सक्षम बाँच्न सफल भएका छन् । दुर्घटनाका क्रममा बुबाले आफूलाई गाडीबाट बाहिर फालेको र त्यसपछि अरू कसैले सडकमा ल्याएकोसम्म सम्झना रहेको सक्षमले बताएका छन् ।

शरीरमा चोटपटक लागेर घर फर्किएका सक्षमलाई आफ्ना आमाबुबाको मृत्यु भएको जानकारी छैन । अर्का छोरा सुजनको टाउको र मुखमा चोट लागेकाले काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुरको इमाडोल आसपासमा ठेलामा तरकारी बेचेर गुड्डु र गायत्रीले दुई छोराको पालनपोषण गर्दै आएका थिए । दुर्घटनामा आमाबुबा गुमाएपछि दुवै बालक अभिभावकविहीन भएका छन् ।

दुर्घटनामा सुन्दरपुरका एकै परिवारका छ जनाको मृत्यु भएको छ । अवधेश यादवकी ३५ वर्षीया श्रीमती पुनम यादव, छोरीहरू १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिका तथा भाइहरू निकेश र सुधेश यादवको मृत्यु भएको हो । उनीहरूका १४ महिनाका छोरा सुदीपको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, निरशु यादवका छोरा ४० वर्षीय राकेश राय र नाति १८ वर्षीय रोहन रायको पनि दुर्घटनामा मृत्यु भएको छ । सोही गाउँका अमिरी रायका छोरा २५ वर्षीय रामप्रवेश यादव, चन्देश्वर रायका छोरा २५ वर्षीय सुवोध राय र निरश रायका छोरा २५ वर्षीय रामदुलार रायले पनि ज्यान गुमाएका छन् । दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासीका ३० वर्षीय रविशङ्करकुमार मण्डलको समेत मृत्यु भएको थियो ।

एकै परिवारका छ जनाको मृत्यु भएपछि आफन्त निर्मलाको अवस्था सम्हालिनसक्नु बनेको छ । उनी पटकपटक अचेत हुने गरेको र छिमेकीले सबैको उपचार भइरहेको भन्दै सम्झाउने प्रयास गरिरहेको स्थानीय विपुलकुमारले बताए ।

यस दुर्घटनाले गाउँलेलाई १२ वर्षअघिको अर्को दुःखद् घटनाको समेत स्मरण गराएको छ । २०७१ कात्तिक १८ गते मकवानपुरको चुरियामाईमा इँटा बोकेको ट्रक दुर्घटना हुँदा सर्लाहीको तत्कालीन औरही गाविसका सात जनाको मृत्यु भएको थियो । ट्रकभित्र लुकेर बसेका उनीहरू ट्रक पल्टिँदा इँटाले थिचिएका थिए ।

उक्त दुर्घटनामा सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, विशेष यादव, जङ्गीलाल महतो र नवलपुरका राजकुमार माझीको मृत्यु भएको थियो ।

स्थानीयवासीले पछिल्लो दुर्घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन् । घटनालगत्तै चक्रघट्ट गाउँपालिकाका अध्यक्ष कृष्ण यादवसहितको टोली मकवानपुर पुगेको थियो । अध्यक्ष यादवले मृतकका परिवारलाई न्याय दिलाउन पहल भइरहेको बताए ।

उनका अनुसार शव परीक्षणपछि मृतकका शव गाउँ ल्याइनेछ । दुर्घटनामा गाउँका १३ जनाको मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक घोषणा गरेको छ । साथै मृतकको दाहसंस्कारका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए ।

यता, पीडित परिवारले राहतलगायतका विषयमा स्पष्ट व्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन् । शव परीक्षणपछि आफन्तको शव गाउँ ल्याउने प्रतीक्षामा रहेका उनीहरूले न्याय र उचित राहतको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?