काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताले भोग्दै आएको ब्याट्री छिटो सकिने समस्यालाई समाधान गर्न चिनियाँ स्मार्टफोन कम्पनी अनरले ठूलो क्षमताको ब्याट्री भएको नयाँ स्मार्टफोन विकास गरिरहेको छ ।
कम्पनीले १४ हजारदेखि १५ हजार एमएएच क्षमताको ब्याट्री भएको स्मार्टफोन परीक्षण गरिरहेको छ । उक्त फोन एकपटक पूरा चार्ज गरेपछि सात दिनसम्म चलाउन सकिने लक्ष्य कम्पनीले राखेको बताइएको छ ।
चिनियाँ सामाजिक सञ्जाल वेइबोका चर्चित प्रविधि टिपस्टर डिजिटल च्याट स्टेसनले अनरको नयाँ स्मार्टफोनबारे जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार उक्त ब्याट्री परीक्षण उत्पादनको चरणमा पुगिसकेको छ । तर, कम्पनीले फोनको नाम, विशेषता र सार्वजनिक हुने मिति भने खुलाएको छैन ।
सिलिकन–कार्बन प्रविधिको प्रयोग
अहिले बजारमा उपलब्ध अधिकांश स्मार्टफोनमा ६ हजार एमएएचभन्दा कम क्षमताका ब्याट्री प्रयोग भइरहेका छन् । यस्तो अवस्थामा अनरले विकास गरिरहेको ब्याट्रीको क्षमता सामान्य स्मार्टफोनको तुलनामा निकै ठूलो हुनेछ ।
अनरले यसअघि पनि ठूलो ब्याट्री भएको स्मार्टफोन सार्वजनिक गरिसकेको छ । कम्पनीको विन आरटी २ गेमिङ स्मार्टफोनमा १२ हजार ७० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ। उक्त फोनमा सिलिकन–कार्बन प्रविधि प्रयोग गरिएको छ भने ९० वाटको फास्ट चार्जिङ सुविधा पनि उपलब्ध छ ।
सिलिकन–कार्बन प्रविधिले परम्परागत ब्याट्रीको तुलनामा कम ठाउँमा बढी ऊर्जा सञ्चित गर्न सक्छ । यसले स्मार्टफोनलाई धेरै मोटो वा भारी नबनाई ब्याट्री क्षमता बढाउन सहयोग गर्छ ।
सामान्य ब्याट्रीमा ग्रेफाइट प्रयोग हुने ठाउँमा यस प्रविधिमा सिलिकन मिसाइन्छ । सिलिकनले बढी ऊर्जा सञ्चित गर्न सक्ने भएकाले ब्याट्रीको क्षमता बढाउन मद्दत पुग्छ ।
पछिल्लो समय चिनियाँ स्मार्टफोन कम्पनीहरू ठूलो क्षमताको ब्याट्री विकास गर्ने प्रतिस्पर्धामा लागेका छन् । यसअघि छिटो चार्ज हुने प्रविधिमा प्रतिस्पर्धा गर्दै आएका कम्पनीहरू अहिले लामो समय टिक्ने ब्याट्री बनाउन केन्द्रित हुन थालेका छन् ।
एप्पल, गुगल र सामसङजस्ता प्रमुख स्मार्टफोन निर्माता कम्पनीका फोनमा भने अझै तुलनात्मक रूपमा कम क्षमताका ब्याट्री प्रयोग भइरहेका छन् ।
अनरले १४ हजारदेखि १५ हजार एमएएच क्षमताको ब्याट्री सफलतापूर्वक स्मार्टफोनमा प्रयोग गर्न सकेमा अन्य कम्पनीलाई पनि ठूलो ब्याट्री प्रविधितर्फ आकर्षित गर्न सक्छ ।
तर, यति ठूलो ब्याट्री प्रयोग गर्दा फोनको तौल, मोटाइ र तापक्रम नियन्त्रण गर्नु कम्पनीका लागि चुनौती हुनेछ । लामो समयसम्म प्रयोग गर्दा ब्याट्री तात्ने समस्या रोक्नु पनि महत्त्वपूर्ण हुनेछ ।
टिपस्टरका अनुसार अनरको नयाँ स्मार्टफोन सन् २०२७ मा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यो फोन चीनमा मात्रै उपलब्ध हुने वा विश्व बजारमा पनि ल्याइने भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया