बझाङ । जिल्लाको बित्थडचिर गाउँपालिका–९, सुनकुडामा सञ्चालन भएको तेस्रो ‘जय नेपाल वडा अध्यक्ष कप–२०८३’ टी–१२ खुला क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपालिका–६ ले जितेको छ ।
मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टोलीलाई पराजित गर्दै बुङ्गल नगरपालिका–६ ले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधिसँगै विजेता टोलीले नगद ६६ हजार ६ सय ६६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक टोलीले नगद ३३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ आयोजक टोलीका कप्तान जगत ढाँट म्यान अफ द सिरिज तथा ब्याट्सम्यान अफ द सिरिज घोषित भए । उनले क्रमशः ४ हजार र २ हजार ५ सय नगदसहित प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गरे ।
यसैगरी, सर्वाधिक विकेटतर्फ विजेता टोलीका निर्मल बहादुर सिंह उत्कृष्ट घोषित हुँदै २ हजार ५ सय नगदसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्न सफल भए ।
उदयमान खेलाडीका रूपमा आयोजक टोलीका पदम बोहरा घोषित भए । उनले २ हजार नगदसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।
बित्थडचिर गाउँपालिका वडा नं. ९ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत तिहार तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा बझाङ जिल्लाभरका २१ वटा टोलीको सहभागिता रहेको थियो, उक्त आयोजना लगातार पाँच दिन सम्म संचालन भएको थियो ।

स्थानीय युवाहरूमा रहेको खेल प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्दै स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष हरिश्चन्द्र जोशीले जानकारी दिए ।
वडाध्यक्ष जोशीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष जानकी बोहरा प्रमुख अतिथि तथा वडा नं. ७ का वडाध्यक्ष दिनेश अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा बुङ्गल नगरपालिका–६ का वडाध्यक्ष, स्थानीय समाजसेवी, बुद्धिजीवी, राजनीतिक व्यक्तित्व, गाउँपालिकाका कर्मचारी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतियोगिताले खेलकुदमार्फत स्थानीय युवाहरूबीच आपसी सद्भाव, एकता, अनुशासन र भाइचाराको सम्बन्ध थप मजबुत बनाउनुका साथै बझाङको क्रिकेट खेल विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया