साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

लोकपथ
42
Shares

रियाद । साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्रमा आक्रमण हुँदा अरामको टावरमा क्षति पुगेको छ । यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि उक्त आक्रमण भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरी आक्रमण गरिएको थियो । आक्रमणबाट भवनका धेरै तलामा क्षति पुगेको छ भने सिसा फुट्नुका साथै बाहिरी संरचनामा समेत असर परेको छ ।

एक प्रत्यक्षदर्शीले भवनलाई नै लक्षित गरी आक्रमण भएको बताएका छन् । अन्य दुई प्रत्यक्षदर्शीले पनि टावरमा क्षति पुगेको पुष्टि गरेका छन् ।

साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले आइतबार बिहान हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेर नष्ट गरेको बताएका थिए । त्यसै समयमा साउदी राजधानीमा ठूला विस्फोटका आवाज सुनिएका थिए ।

यमनमा लामो समयदेखि जारी द्वन्द्वका क्रममा सन् २०२२ मा भएको युद्धविराम यस वर्ष जुलाईमा भंग भएपछि साउदी अरब र हुथी विद्रोहीबीच पुनः आक्रमण तथा प्रत्याक्रमण भइरहेको छ । हुथी विद्रोहीले साउदीका विमानस्थल, ऊर्जा पूर्वाधार र सैन्य संरचनालाई लक्षित गर्दै आएका छन् ।

इरानको समर्थन प्राप्त हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेका थिए । त्यसको एक वर्षपछि साउदी नेतृत्वको गठबन्धन यमनी सरकारको समर्थनमा युद्धमा सहभागी भएको थियो ।

साउदी अरबको आर्थिक तथा सामाजिक सुधार अभियानको प्रमुख प्रतीक मानिने किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा अग्ला भवन, विलासी पसल, हरियाली क्षेत्र, आवासीय भवन तथा ठूलो मेट्रो स्टेसन रहेका छन् । बिहानको व्यस्त समयमा यहाँ मानिसको बाक्लो आवतजावत हुने गर्छ ।

आक्रमणलाई साउदी अरब र हुथी विद्रोहीबीचको द्वन्द्वमा थप तनाव बढेको संकेतका रूपमा हेरिएको छ ।

आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्रै साउदी शिक्षा मन्त्रालयले रियादका विद्यालयमा आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने घोषणा गरेको थियो । सुरक्षा चुनौतीका कारण केही सातादेखि विद्यालयमा अनलाइन माध्यमबाट पढाइ भइरहेको थियो ।

यसैबीच, हुथी विद्रोहीका निरन्तर आक्रमणको सामना गरिरहेको साउदी अरबले सहयोगी राष्ट्रहरूसँग सहयोग मागिरहेको छ । हुथी विद्रोहीले हालै साउदी समर्थित सरकारको नियन्त्रणमा रहेको लालसागरको तटीय क्षेत्रको ठूलो हिस्सा कब्जा गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?