धनकुटामा राति १० बजेपछि देउसी-भैलो खेल्न रोक

लोकपथ
21
Shares

धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ ।

तिहारलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले यस्तो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार देउसी–भैलोका नाममा जबर्जस्ती चन्दा उठाउने, होहल्ला गर्ने, बाटो अवरुद्ध गर्ने र चर्को आवाजमा डिजे बजाउने गतिविधि नियन्त्रण गर्न समयसीमा तोकिएको हो ।

प्रशासनले राति अबेरसम्म देउसी–भैलो खेल्ने, जबर्जस्ती पैसा माग्ने र चर्को आवाजमा साउन्ड सिस्टम बजाउने काम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

त्यसैगरी पटका, भुइँचम्पा र रकेटजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री तथा प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ । जुवातास, अनलाइन सट्टेबाजी र अवैध चिट्ठाजस्ता गतिविधिमाथि समेत निगरानी बढाइएको प्रशासनले जनाएको छ ।

चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, मनपरी मूल्य बढाउने र म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्ने व्यापारीमाथि पनि कारबाही गरिने प्रशासनले जनाएको छ ।

यातायात क्षेत्रमा यात्रुसँग बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई समेत कारबाही गरिने शर्माले बताइन् ।

कानुनविपरीत गतिविधि गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनको चेतावनी छ ।

प्रशासनले तिहारलाई मर्यादित र सुरक्षित रूपमा मनाउन तथा मौलिक संस्कृति संरक्षण गर्दै सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?