काठमाडौं । आईसीसी विश्वकप छनोट प्ले–अफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै आगामी डिसेम्बर ४ अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंमा प्रतियोगिता सञ्चालन हुने जनाएको छ।
प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन्। घरेलु टोली नेपालले पहिलो खेलमा मंसिर १८ गते इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।
सार्वजनिक खेलतालिकाअनुसार नेपालले दोस्रो खेल मंसिर २० गते युगान्डासँग खेल्नेछ। त्यसपछि मंसिर २४ गते यूएई, मंसिर २६ गते जर्सी र मंसिर २८ गते क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतसँग खेल्ने तालिका छ। नेपालले प्रतियोगिताका आफ्ना सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित आठ टोलीको सहभागिता रहनेछ। आईसीसी विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र यूएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको अंकतालिकामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।
लिग–२ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान भने यसअघि नै ग्लोबल क्वालिफायरमा प्रवेश गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया