काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता नेपाली चाडपर्वको सुन्दर पक्ष रहेको बताएका छन् ।
यमपञ्चकको पहिलो दिन काग तिहारको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्पराले प्रकृतिसँगको सम्बन्धलाई झल्काउने बताएका हुन् ।
उनले प्राचीन समयमा आधुनिक सञ्चारका माध्यम नभएका बेला काग कराउनुलाई कतैबाट खबर वा पाहुना आउन लागेको संकेतका रूपमा लिने गरिएको उल्लेख गरेका छन् । कागलाई यमराजको दूत मान्दै मीठा परिकार खुवाएर शुभ सन्देश पुर्याउने कामना गर्ने परम्परा रहेको पनि उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले यमपञ्चकमा परिवारका सदस्यको नाममा यम दीपदान गर्ने परम्पराको पनि चर्चा गरेका छन् । उनका अनुसार हाम्रो संस्कृतिमा यमराजलाई डरको प्रतीकका रूपमा मात्र नभई न्यायको प्रतीकका रूपमा समेत लिने गरिन्छ ।
त्यस्तै, धन्वन्तरी जयन्तीको अवसरमा भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबैलाई निरोगी जीवनको शुभकामना दिएका छन् ।
भोलि मनाइने कुकुर तिहारको शुभकामना दिँदै उनले कुकुर मानिसको विश्वासिलो र वफादार साथी रहेको बताएका छन् । घरको सुरक्षा गर्नेदेखि अनुसन्धान र उद्धारका काममा समेत कुकुरले मानिसलाई सहयोग गर्दै आएको उनले उल्लेख गरेका छन् ।
यी पर्वहरूले मानिस र अन्य जीवबीचको प्रेम, सद्भाव र सहअस्तित्वलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले सत्य, न्याय र इमानदारीको बाटोमा अघि बढेर सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा लिन सबैलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया