काठमाडौं । भारतको चर्चित सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सले इटालीको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी इभेकोको अधिकांश शेयर खरिद गरेको छ । टाटा मोटर्सले करिब ३ अर्ब ४३ करोड युरो खर्च गरेर इभेकोको ८९.४२ प्रतिशत शेयर आफ्नो स्वामित्वमा लिएको हो ।
शुक्रबार शेयर हस्तान्तरणको पहिलो प्रक्रिया पूरा भएसँगै इभेको टाटा मोटर्सको सहायक कम्पनी बनेको छ । यो टाटा मोटर्सको सन् २००८ मा जगुआर ल्यान्ड रोभर खरिद गरेपछिको सबैभन्दा ठूलो अधिग्रहण हो ।
टाटा मोटर्सको पूर्ण स्वामित्वमा रहेको कम्पनी टीएमएल सीभी होल्डिङ्समार्फत इभेकोका २३ करोड ८१ लाखभन्दा बढी कित्ता शेयर खरिद गरिएको हो ।
सुरुमा टाटा मोटर्सले इभेकोको एक कित्ता शेयर १४.१० युरोमा खरिद गर्ने प्रस्ताव गरेको थियो । पछि अक्टोबर ९ मा मूल्य बढाएर प्रतिकित्ता १४.४० युरो पुर्याइएको थियो। शेयर खरिदको रकम नगदमा भुक्तानी गरिनेछ ।
इभेकोका सबै शेयर भने अझै खरिद भइसकेका छैनन् । बाँकी शेयरधनीलाई नोभेम्बर २ देखि ६ सम्म आफ्नो शेयर बिक्री गर्ने थप अवसर दिइनेछ। यसरी शेयर बिक्री गर्नेले नोभेम्बर १३ मा रकम पाउनेछन् ।
यस अधिग्रहणपछि टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन इभेकोको अध्यक्ष बनेका छन् । इभेकोका यसअघिका प्रमुख कार्यकारी अधिकृत ओलोफ पर्सनले भने आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनेछन् ।
बाँकी शेयर खरिद गर्ने वा कम्पनीको पुनर्संरचना गर्ने भन्ने विषयमा टाटा मोटर्सले पछि निर्णय गर्ने जनाएको छ ।
इभेको विश्वका ठूला व्यावसायिक सवारीसाधन निर्माता कम्पनीमध्ये एक हो । यसका विश्वभर १६ वटा उत्पादन केन्द्र र २२ वटा अनुसन्धान तथा विकास केन्द्र छन्। कम्पनीमा करिब ३३ हजार कर्मचारी कार्यरत छन् ।
टाटा मोटर्सले इभेकोको प्रविधि, उत्पादन र अन्तर्राष्ट्रिय बजार सञ्जालको उपयोग गर्दै विश्व बजारमा आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया