काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ ।
सो पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेका लागि आवेदनसमेत खुला गरेको छ ।
महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो ।
पार्टी प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिमा उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि समिति सदस्यहरूको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको उल्लेख छ ।
जसअन्तर्गत क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई जिम्मेवारी दिइएको छ ।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लब मार्फत आवेदन खुला गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया