बाढीपहिरोले देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध, पृथ्वीराजमार्ग र बीपी राजमार्ग पूर्ण ठप्प

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित देशभरका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । विभिन्न स्थानमा पहिरो खस्ने, खोलामा लेदो तथा ढुङ्गामाटो बग्ने र पानीको बहाव बढ्ने क्रम जारी रहेपछि सडक यातायात प्रभावित भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको हो ।

त्यस्तै, काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर आउँदा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान ४ः५५ बजेदेखि उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुक्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा बन्द भएको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा समेत पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

ललितपुरस्थित बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्डमा पनि यातायात प्रभावित भएको छ । ललितपुर महानगरपालिका–२ बल्खुस्थित सुन्दरीघाट क्षेत्रमा अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सडकमा आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ कासिबनस्थित कालीगण्डकी करिडोरको पक्की सडकखण्डमा समेत ढुङ्गासहितको पहिरो खसेर यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

यसैगरी, मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन् । प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?