काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पत्रकारमाथि धरपकड, पक्राउ तथा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्न खोजिएको भन्दै उक्त गतिविधिप्रति आपत्ति जनाएका छन्।
उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै पत्रकारलाई नियन्त्रण गर्ने होइन, सत्तालाई जवाफदेही बनाउने माध्यमका रूपमा प्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन्।
भट्टले भनेका छन्, “प्रेस नियन्त्रणको साधन होइन, सत्तालाई जवाफदेही बनाउने ऐना हो। प्रश्न सोधेकै आधारमा धरपकड र अनुसन्धानको घेरामा तान्नु लोकतान्त्रिक मूल्यविपरीत हो।”
उनले पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको धरपकड बन्द गर्न माग समेत गरेका छन्।
पत्रकारको अधिकार कुण्ठित गर्ने, उनीहरूलाई हतोत्साहित बनाउने र स्वतन्त्र रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरणमा अवरोध सिर्जना गर्ने कार्य स्वीकार्य नहुने उनको भनाइ छ।
पत्रकारमाथि सादा पोसाकमा प्रहरी परिचालन गरी डर, दबाब र त्रास सिर्जना गर्ने तथा सार्वजनिक रूपमा अपमानित गर्ने गतिविधि तत्काल रोक्नुपर्ने उनले बताए ।
भट्टले पत्रकारिता कुनै पनि सरकार वा राजनीतिक शक्तिको प्रशंसामा सीमित हुन नहुने बताउँदै आलोचना, प्रश्न र तथ्यमा आधारित समाचार लोकतन्त्रका अपरिहार्य पक्ष भएको धारणा राखे ।
“समाचारप्रति असहमति भए कानुनी र संस्थागत प्रक्रियाबाट समाधान खोजिनुपर्छ, तर समाचार लेखेकै वा प्रश्न उठाएकै आधारमा पत्रकारलाई निशाना बनाउनु हुँदैन” उनले भने ।
प्रेस स्वतन्त्रताको संरक्षणका लागि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति तथा सञ्चारसम्बन्धी स्वतन्त्रताको सम्मान, पत्रकारको भौतिक सुरक्षा, समाचार स्रोतको गोपनीयता र सूचनामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया