तीन महिनामै थपियो १ खर्ब २३ अर्ब ऋण, नेपालको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

लोकपथ
7
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै नेपालको सार्वजनिक ऋण १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँले बढेको छ। यससँगै मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब रुपैयाँ रहेको थियो। साउनदेखि असोज मसान्तसम्म आइपुग्दा ऋण बढेर ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो ।

कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३.१३ प्रतिशत अर्थात् १५ खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ रहेको छ। त्यस्तै, आन्तरिक ऋण ४६.८७ प्रतिशत अर्थात् १४ खर्ब १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा नेपालको सार्वजनिक ऋण ४५.५९ प्रतिशत पुगेको छ। यसमध्ये आन्तरिक ऋण २१.३७ प्रतिशत र बाह्य ऋण २४.२२ प्रतिशत रहेको छ ।

सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। यो वार्षिक बजेट विनियोजनको २३.६६ प्रतिशत हो ।

यस अवधिमा सरकारले ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ साँवा र २१ अर्ब १२ करोड ५७ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ। असोज मसान्तसम्मको भुक्तानीपछि अब ३ खर्ब १९ अर्ब १ करोड ३५ लाख रुपैयाँ तिर्न बाँकी छ ।

सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड ७ लाख रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ । तर, पहिलो तीन महिनामा १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको १८.७३ प्रतिशत हो ।

आन्तरिक ऋण उठाउने प्रगति बाह्य ऋणको तुलनामा बढी देखिएको छ। तीन महिनामा सरकारले १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ। यो वार्षिक लक्ष्यको २४.३९ प्रतिशत हो। सरकारले यस वर्ष आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ ।

त्यस्तै, बाह्य ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकामा असोज मसान्तसम्म २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ । यो लक्ष्यको ९.३९ प्रतिशत हो ।

पहिलो तीन महिनामा प्राप्त कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.०९ प्रतिशत र बाह्य ऋणको हिस्सा १८.९१ प्रतिशत रहेको छ।

सरकारले चालु आर्थिक वर्षको ऋण परिचालन लक्ष्य पूरा गर्न अब बाँकी अवधिमा ५ खर्ब ३४ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ ऋण उठाउनुपर्नेछ ।

यसमा आन्तरिक ऋणतर्फ ३ खर्ब १० अर्ब रुपैयाँ र बाह्य ऋणतर्फ २ खर्ब २४ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ जुटाउन बाँकी छ ।

यसैबीच, पहिलो तीन महिनामा विदेशी मुद्रा विनिमय दरमा भएको परिवर्तनका कारण नेपाललाई १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँ बराबरको लाभ भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?