डा.केसीसँग भएका सहमति कार्यान्वयन गर्न शिक्षा मन्त्रालयद्वारा कार्यदल गठन

लोकपथ
63
Shares

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा.डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनका लागि कार्यदल गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन कायम तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधान गर्न नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाइएको स्पष्ट पारेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले डा.केसीसँग गत साउन ११ गते भएको सहमतिअनुसार त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले चिकित्सा शिक्षा ऐन, २०७५ तथा त्यसअन्तर्गतका नियमावली र नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत चिकित्सा शिक्षालाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरे ।

चिकित्सा शिक्षा ऐनले चिकित्सा शिक्षा आयोगको स्थापना, साझा प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति व्यवस्था, शिक्षण संस्थाको सिट निर्धारण, गुणस्तर मापदण्ड तथा शुल्क नियमनलगायतका विषयलाई समेटेको छ । ऐनले चिकित्सा शिक्षामा पहुँच विस्तार र गुणस्तर सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार गरेको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ तथा अन्य नीतिगत व्यवस्थाको कार्यान्वयनबाट चिकित्सा शिक्षामा निःशुल्क तथा छात्रवृत्तिका अवसर विस्तार, समावेशी सहभागिता र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रमा हासिल भएका उपलब्धि तथा सुधारका प्रयासलाई संस्थागत गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?