चक्रवात ‘अर्नब’को प्रभावले राजमार्गमा पहिरो र बाढीको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह

लोकपथ
49
Shares

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले नेपालका विभिन्न राजमार्गमा पहिरो, बाढी र सडक भासिने जोखिम बढ्ने अनुमान गरिएको छ । त्यसैले सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन् ।

बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार प्रारम्भिक जोखिम आकलन गर्दै पूर्वसूचना जारी गरेका हुन् ।

सूचनाअनुसार आगामी केही दिन नारायणी, बागमती र कोशी नदी आसपासका क्षेत्रमा वर्षा हुन सक्ने सम्भावना छ । वर्षाका कारण पहाडी सडकमा पहिरो खस्ने, ढुंगा झर्ने र सडक भासिने जोखिम बढ्न सक्छ । नदी किनारका सडकमा बाढी आउने र सडक कटान हुने सम्भावना पनि छ ।

त्यस्तै, साना तथा ठूला खोलामा पानीको बहाव बढ्दा पुल, कल्भर्ट र सडकमा क्षति पुग्न सक्ने जनाइएको छ ।

सम्भावित जोखिममा नारायणगढ–मुग्लिन, कोशी, सिद्धार्थ, कान्ति र अरनिको राजमार्गका संवेदनशील खण्ड रहेका छन् । त्रिशूली र नारायणी नदी किनारका सडक तथा बागमती नदी जलाधार क्षेत्रका सडकमा पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पहिरो र बाढीका कारण सडक अवरुद्ध भए यातायात सेवा प्रभावित हुनुका साथै अत्यावश्यक सामानको ढुवानीमा समेत समस्या आउन सक्छ ।

सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक वर्षाको समयमा यात्रा नगर्न सुझाव दिएका छन् । यात्रा गर्नैपर्ने भए ट्राफिक प्रहरी वा सडक कार्यालयबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?