‘कार्तिक १५ गतेसम्म जोखिम छ, उच्च हिमाली क्षेत्रमा नजानूस्’

लोकपथ
35
Shares

काठमाडौं । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ ।

नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ ।

प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ ।

यसैगरी, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्रमा तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?