दक्षिणी सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

लोकपथ
28
Shares

काठमाडौं। दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनले गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जोर्डनले सिरियाली सरकारसँगको समन्वयमा आक्रमण गरिएको दाबी गरे पनि दमास्कसले भने आफ्नो सहमतिबिना आक्रमण भएको भन्दै आपत्ति जनाएको छ ।

दाराको स्वास्थ्य निर्देशनालयका प्रमुख खालिद अल–अम्यानका अनुसार मृतकमा तीन बालबालिका, तीन पुरुष र एक महिला रहेका छन् । उद्धार टोलीले घटनास्थलमा थप पीडितको खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताएका छन् ।

सिरियाली सरकारले घटनाबारे अनुसन्धान सुरु गरिएको र प्रभावितलाई सहायता उपलब्ध गराइरहेको जनाएको छ । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरियाले जोर्डनसँगको प्रमुख नासिब सीमा नाका मङ्गलबार बन्द गर्ने घोषणा गरेको छ । नाका बन्द भएपछि यात्रु तथा व्यावसायिक सवारीसाधनको आवागमन दुवैतर्फ प्रभावित हुने बताइएको छ ।

मानव अधिकारका लागि सिरियाली अब्जर्भेटरीका अनुसार सोमबार दारा र छिमेकी स्वीडा प्रान्तका विभिन्न स्थानमा हवाई आक्रमण भएका थिए । आक्रमण गरिएका क्षेत्रमध्ये अल–मुजायरिब, नासिब र खलखलाह सैन्य विमानस्थल आसपासका स्थान पनि रहेका छन् ।

जोर्डनको सरकारी समाचार संस्था पेट्राका अनुसार जोर्डनको सेनाले दक्षिणी सिरियामा आतङ्कवादीहरू लुकेका स्थानलाई लक्षित गरी कारबाही गरेको हो । सेनाले ‘जोर्डानियन डिटेरेन्स–हमौद’ नामक अभियान सिरियाली सरकारसँगको समन्वयमा सञ्चालन गरिएको दाबी गरेको छ ।

जोर्डनले शुक्रबार काराक प्रान्तमा चर्चको अन्त्येष्टि समारोहका क्रममा भएको घातक आक्रमणको जवाफस्वरूप पछिल्लो कारबाही गरिएको जनाएको छ । उक्त घटनाका जिम्मेवार व्यक्ति दक्षिणी सिरियामा सक्रिय उग्रवादी समूहसँग सम्बन्धित रहेको जोर्डनको आरोप छ ।

जोर्डनको सेनाले पछिल्लो हवाई आक्रमणमा केही शङ्कास्पद आतङ्कवादी मारिएको वा घाइते भएको तथा उनीहरूका अखडा र उपकरण नष्ट गरिएको दाबी गरेको छ । यद्यपि, सेनाले आक्रमणमा भएको मानवीय क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यस घटनाले जोर्डन र सिरियाबीचको सुरक्षा समन्वय तथा सीमा क्षेत्रमा बढ्दो तनावलाई थप चर्चामा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?