काठमाडौं । काठमाडौं उपत्यकामा शान्तिसुरक्षा कायम गर्ने तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा ७५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये ६० जना पुरुष र १४ जना महिला रहेका छन् । प्रहरीले नियन्त्रणमा लिइएका अन्य एक जनाको विवरण भने खुलाएको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार समाजमा शान्ति सुव्यवस्था कायम गर्नुका साथै आपराधिक गतिविधिको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी अभियान सञ्चालन गरिएको हो ।
प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्र र नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी सुरक्षा अभियान सञ्चालन गरेको जनाएको छ ।
अभियानका क्रममा सार्वजनिकस्थल तथा यातायातका साधनमा सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि तथा गुण्डागर्दीजस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तोकिएका आठ जना कसुरदार तथा अनुसन्धान र कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतबाट सजाय तोकिएका तथा चालु मुद्दामा फरार रहेका गरी १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु, फरार कसुरदार तथा प्रतिवादीको खोजी गर्नु र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउनु अभियानको मुख्य उद्देश्य हो ।
विशेषगरी सार्वजनिक यातायात, भीडभाड हुने क्षेत्र तथा सेवाग्राहीको बढी उपस्थिति रहने स्थानमा हुने चोरी, लुटपाट, दुर्व्यवहार, बिचौलियाको गतिविधि र गुण्डागर्दी नियन्त्रणलाई अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया