काठमाडौं । बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ ।
हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ । अमेरिकी डलरमा आधारित गणनाअनुसार अर्बपतिको सङ्ख्या पनि १५५ ले बढेर एक हजार १७६ पुगेको छ ।
हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन् । बाइटडान्सको ‘डुबाओ’ चीनमा सबैभन्दा बढी प्रयोग हुने एआई सहायक बनेको छ । यही कम्पनी लोकप्रिय छोटो भिडियो मञ्च डुइन र टिकटकको पनि सञ्चालक हो ।
बोतलको पानीका व्यवसायी झोङ सानसानको सम्पत्ति २३ प्रतिशत घटेर ६१ अर्ब अमेरिकी डलरमा सीमित भएपछि उनी दोस्रो स्थानमा झर्नुभएको छ । विद्युतीय सवारीसाधनका लागि ब्याट्री उत्पादन गर्ने विश्वकै ठूलो कम्पनीका प्रमुख रोबिन जेङ तेस्रो स्थानमा रहेका छन् । एआई कम्पनी डीपसिकका संस्थापक लियाङ वेनफेङ सातौँ र एआई चिप निर्माता क्याम्ब्रिकनका अध्यक्ष चेन तियान्सी दसौँ स्थानमा रहेका छन् ।
एआई, अर्धचालक र रोबोटिक्स क्षेत्रका उद्यमीको सम्पत्ति बढे पनि उपभोक्ता र घरजग्गा क्षेत्रका व्यवसायीको सम्पत्ति घटेको हुरुनले जनाएको छ । चिनियाँ विद्युतीय सामग्री निर्माता साओमीका अध्यक्ष लेइ जुनको सम्पत्ति आधा घटेर २५ अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ ।
पहिलोपटक चीनको मुख्यभूमिमा आधारित कुनै पनि रियलस्टेट डेभलपर शीर्ष १०० धनीको सूचीमा परेका छैनन् ।
सरकारी सहयोगका कारण एआई र विद्युतीय सवारीसाधन उद्योग विस्तार भइरहेका बेला उपभोक्ताले खर्च घटाउँदा साना व्यवसाय प्रभावित भएका छन् । घरजग्गा बजारको लामो मन्दीले पनि आन्तरिक माग कमजोर बनाएको छ ।
चीनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको थियो । चीनले यस वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । यो गत वर्षको पाँच प्रतिशत वृद्धिभन्दा केही कम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया