दशैँपछिको पहिलो दिन के भयो शेयर बजार ?

लोकपथ
21
Shares

काठमाडौं । दशैँपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ बिन्दुमा झरेको हो ।

आज बजारमा कारोबार भएका अधिकांश उपसूचक घटेका छन् । जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार समूहका उपसूचकमा वृद्धि भएको छ भने बाँकी सबै उपसूचक ओरालो लागेका छन् ।

व्यापार समूहको उपसूचक सर्वाधिक १.११ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशतले उकालो लागेको छ । यता विकास बैंक समूहको उपसूचक सर्वाधिक १.२१ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ३४१ वटा कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २४ करोड २१ हजार रुपैयाँ पुगेको छ ।

यसअघि दशैंअघिको अन्तिम कारोबार दिन गत असोज ३० गते ३४८ वटा कम्पनीका १ करोड ३३ लाख ७६ हजार ४८९ कित्ता सेयर किनबेच भएका थिए । उक्त दिन ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ९९ वटाको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ । यस्तै, ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

यस दिन बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ ।

समग्रमा दशैंपछिको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ भने अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम र सेयर किनबेचको परिमाणसमेत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?