सर्बियामा १४ वर्षपछि ढल्यो ‘अलेक्जान्डर’ को सत्ता, विद्यार्थी आन्दोलनको जित

लोकपथ
77
Shares

काठमाडौं । सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको छ । यससँगै राष्ट्रपति अलेक्जान्डर भुसिकको दलको १४ वर्ष लामो शासन अन्त्य हुने भएको छ ।

सन् २०२४ मा नोभी साद रेलवे स्टेसनको छत भत्किँदा १६ जनाको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले देशव्यापी रूप लिएको थियो । विद्यार्थीहरूले दुर्घटनाको पारदर्शी अनुसन्धान र भ्रष्टाचार नियन्त्रणको माग गर्दै करिब दुई वर्ष अभियान चलाएका थिए ।

विद्यार्थी सूचीका उम्मेदवार राडोमिर साइसिकले प्रारम्भिक नतिजाले आफूहरू अधिकांश मतदान केन्द्रमा अगाडि रहेको देखाएको बताए । उनले विजयलाई न्याय, स्वतन्त्रता र मर्यादित सर्बियाको आशासँग जोडेर व्याख्या गरेका छन् ।

निर्वाचनमा करिब ६५ प्रतिशत मतदाताले मतदान गरेका थिए, जुन सन् १९९३ यताकै उच्च सहभागिता भएको जनाइएको छ ।

मतदान सकिएको दुई घण्टाभन्दा कम समयमै भुसिकले पराजय स्वीकार गरेका थिए ।

राजधानी बेलग्रेडमा हजारौँ समर्थकले सडकमा भेला भएर विजय उत्सव मनाएका थिए ।

प्रारम्भिक तथ्याङ्कअनुसार विद्यार्थी आन्दोलनले २५० सदस्यीय संसद्मा १३५ देखि १४० सिट जित्न सक्ने भुसिकले बताएका थिए ।

उनले परिणामका लागि विभिन्न युरोपेली देश र अमेरिकाको ‘डिप स्टेट’ को समर्थन रहेको आरोप लगाए ।

विद्यार्थीहरूले देशभर र्‍याली र पदयात्रा गर्दै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाएका थिए ।

बिहीबार बेलग्रेडमा भएको अन्तिम चुनावी र्‍यालीमा करिब एक लाख ५० हजार मानिस सहभागी भएको स्वतन्त्र अनुगमनकर्ताले जनाएका थिए ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयन र हङ्गेरीका प्रधानमन्त्री पिटर मग्यारले विद्यार्थी आन्दोलनबाट निर्वाचनमा उठेका उम्मेदवारहरूलाई बधाई दिइन्। भोन डेर लेयनले कानूनी शासन, सञ्चारमाध्यमको स्वतन्त्रता र भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्ने बताइन् ।

विद्यार्थी सूचीका अधिकांश उम्मेदवार शिक्षाविद्, कलाकार र विभिन्न क्षेत्रका विशेषज्ञ हुन् । तीमध्ये धेरैसँग राजनीतिक अनुभव कम छ । नोभी साद दुर्घटनाको पारदर्शी अनुसन्धानको मागबाट सुरु भएको आन्दोलन पछि निर्वाचनको मागमा केन्द्रित भएको थियो ।

आन्दोलनको दबाब बढेपछि भुसिकले गत महिना आकस्मिक निर्वाचन घोषणा गरेका थिए ।

उनले प्रधानमन्त्री बन्न राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । निर्वाचनको अनुगमन स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकले गरेका थिए भने विद्यार्थीहरूले पनि मतदान प्रक्रियाको निगरानी गर्न ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?