भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

लोकपथ
56
Shares

काठमाडौं । चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् परियोजनाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

सरकारी अधिकारीका अनुसार शुक्रबार राति भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरी चौकी, सरकारी कार्यालय तथा जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनीसमेत गरेका छन् ।

मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’को विरोधमा प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको उनले बताएका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्दा करिब ४० जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

मुख्यमन्त्री खाण्डुले परियोजनाको विरोध गरिरहेका स्थानीयलाई हिंसाको बाटो त्यागेर सरकारसँग वार्तामा आउन आग्रह गरेका छन् ।

भारतले तिब्बतमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् परियोजनाबाट हुन सक्ने सम्भावित प्रभावलाई ध्यानमा राख्दै आफ्नो बाँध परियोजना आवश्यक रहेको बताउँदै आएको छ । करिब १६७ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको चिनियाँ परियोजना विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्न सक्ने बताइएको छ ।

चिनियाँ परियोजनाका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भारतको चिन्ता छ । प्रस्तावित भारतीय बाँधमा विशाल जलाशय निर्माण गरी नदीमा पानीको बहाव कायम राख्न सकिने नयाँ दिल्लीको दाबी छ । चीनले भने आफ्नो परियोजनाबाट तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक असर नपर्ने बताउँदै आएको छ ।

भारतीय परियोजनाको स्थानीय समुदायले समेत विरोध गर्दै आएका छन् । परियोजना निर्माण भए घर तथा जमिन गुमाउनुपर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

घटनाले भारत र चीनबीच हिमालय क्षेत्रमा जारी सीमा विवाद र तनावलाई समेत थप उजागर गरेको छ । चीनले अरुणाचल प्रदेशलाई ‘दक्षिणी तिब्बत’को हिस्सा दाबी गर्दै आएको छ भने भारतले अरुणाचललाई आफ्नो अभिन्न भू–भाग बताउँदै आएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमा क्षेत्रमा तनाव व्यवस्थापनका लागि दुवै देशका अधिकारी नियमित सम्पर्कमा रहेको बताएका छन् ।

उनका अनुसार सीमा क्षेत्रमा चिनियाँ सेनाले नियमित गस्तीको स्थापित ढाँचाभन्दा फरक गतिविधि गर्दा बेलाबेलामा तनाव उत्पन्न हुने गरेको छ । दुवै पक्षले कूटनीतिक तथा सैन्य संयन्त्रमार्फत बाँकी विवाद समाधान गर्नुका साथै गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव रोक्न प्रयास गरिरहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?