एनपीएल सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी खटाइने

लोकपथ
35
Shares
Screenshot

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएललाई लक्षित गरी सुरक्षा योजना बनाएर काम सुरु गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार शनिबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियम पुगेर सुरक्षा व्यवस्थाबारे अवलोकन गरेको थियो ।

प्रहरीले खेलाडी, खेलाडी बस्ने होटल, होटलबाट स्टेडियमसम्मको आवतजावत, ट्राफिक व्यवस्थापन, स्टेडियमभित्र र दर्शकको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा योजना बनाएको छ ।

खेलाडी बस्ने आठवटा होटलमा सुरक्षा व्यवस्था मिलाउनुका साथै उनीहरूलाई होटलबाट स्टेडियम लैजाने र ल्याउने क्रममा पनि प्रहरी परिचालन गरिने एसएसपी घिमिरेले बताए ।

खेलको उद्घाटन र समापनका क्रममा विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरू (भीआईपी र भीभीआईपी) को आवागमन हुने भएकाले उनीहरूको सुरक्षाका लागि पनि विशेष व्यवस्था गरिनेछ ।

यी सबै सुरक्षा व्यवस्थाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी खटाइनेछ । सुरक्षामा सादा पोसाकका प्रहरीसमेत परिचालन हुनेछन् । नेपाल प्रहरीसँगै बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरी बल पनि खटिने जनाइएको छ ।

प्रहरीले स्टेडियम र आसपासका क्षेत्रमा सीसीटीभी क्यामेरा तथा ड्रोनबाट निगरानी गर्ने जनाएको छ । शंकास्पद वस्तु वा गतिविधि पत्ता लगाउन तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिनेछ ।

स्टेडियम वरपर जडान गरिएका सीसीटीभी क्यामेराबाट त्यहीँ खटिएका प्रहरीले निगरानी गर्नेछन् । अन्य क्षेत्रका सीसीटीभी क्यामेराको निगरानी भने प्रहरीको सीसीटीभी कन्ट्रोल रुमबाट गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?