के लगानी बोर्डमा ठेकेदारबाट मदिरा पुगेको थियो ? आयो स्पष्टीकरण

लोकपथ
0
Shares

काठमाडौं । बिहीबार एकाएक लगानी बोर्डमा दशैँका उपहारस्वरुप मदिरादेखि आइफोनसम्म पुगेको भन्ने विषयले चर्चा पायो ।

लगानी बोर्डकी सीईओ याङ्की उक्याब लगायतलाई व्यवसायीहरुले उपहार दिएको भन्ने बाहिरिएपछि आलोचना समेत भएको थियो ।

एक युट्युबरले रिपोर्टिङ गर्दै नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको भनिएको मदिरा उपहारको विषय बाहिरिएको थियो ।

चौतर्फी आलोचनापछि लगानी बोर्डले त्यसबारे स्पष्टीकरण दिएको छ ।

कार्यालय विज्ञप्ति जारी गर्दै असोज २९ गते बिहीबार दिउँसो २ः३० बजे प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत बोर्डका कर्मचारीहरू महत्त्वपूर्ण बैठकमा व्यस्त रहेका बेला अनुमति तथा जानकारीबिना एक युट्युब च्यानलका सञ्चालक कार्यालयमा प्रवेश गरेका थिए ।

ती व्यक्तिले कार्यालयभित्र प्रवेश गरी कर्मचारीहरूको भिडियो खिचेका थिए।

कार्यालयले भिडियोमा देखाइएको मिठाई र बिस्कुटसहितको टोकरी ठेकेदारबाट उपहारका रूपमा लिइएको भन्ने प्रचारलाई गलत व्याख्या र भ्रामक प्रचारको संज्ञा दिएको छ । उक्त टोकरी एक परियोजनाका प्रतिनिधिले कार्यालयमा खटिएका आफ्ना प्रतिनिधिहरूका लागि ल्याएको पाइएको कार्यालयको भनाइ छ।

‘लगानी बोर्डको कार्यालयका कर्मचारीका लागि यस किसिमका उपहार लिनेदिने कार्य कदापि स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ ।

कार्यालयका अनुसार घटनाबारे सत्यतथ्य बुझ्दा परियोजनाका प्रतिनिधिले कार्यालयमा खटिएका प्रतिनिधिहरूका लागि ल्याएको मिठाई र बिस्कुटसहितको टोकरी कार्यालयका कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्दै प्रचार गरिएको थियो।

कार्यालयले उक्त घटनाले कर्मचारीहरूलाई अनावश्यक विवादमा तान्ने र बोर्डको कामकारबाहीमा बाधा पुर्‍याउने अवस्था सिर्जना गरेको जनाएको छ ।

‘यस बोर्डको कार्यालयका कर्मचारीहरूको मानमर्दन गर्ने, मनोबल गिराउने र अनावश्यक विवादमा पारी बोर्डको समय कार्यादेश पूरा गर्न अवरोध सिर्जना गर्ने यस किसिमका नियोजित गतिविधि रोक्न सम्बन्धित पक्षमा यस कार्यालय आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कार्यालयले घटनासँग सम्बन्धित भिडियो सम्प्रेषण गरी अफवाह फैलाइएको आरोप लगाउँदै आवश्यक कानुनी उपचार लिन बाध्य हुने चेतावनीसमेत दिएको छ।

त्यसैगरी, सुशासन कायम गर्ने सरकारको नीतिप्रति बोर्डका सम्पूर्ण कर्मचारी पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्यालयले कर्मचारीले कुनै पनि प्रकारका अनुचित उपहार लिने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?