काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचना आफ्नै खर्चमा मर्मत गर्ने भएको छ ।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा महाधिवेशनका विभिन्न कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका क्रममा क्षति पुगेको खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन नयाँ दुबो रोप्ने र आवश्यक मर्मत गर्ने भएको हो ।
काठमाडौं महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चको पुनर्स्थापनाको जिम्मेवारी माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई दिइएको छ ।
मर्मतसम्बन्धी सम्झौतामा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन् । सम्झौताका क्रममा कांग्रेसबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा पनि उपस्थित थिए ।
सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चका भागमा जमिन सम्याएर उच्च गुणस्तरको दुबो रोपिनेछ । त्यसपछि नियमित सिँचाइ र प्राविधिक रेखदेख गरेर खुलामञ्चलाई हराभरा बनाइनेछ ।
यसका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेसले नै व्यहोर्ने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए ।
खुलामञ्च पुनर्स्थापनाका लागि ४५ दिनको समय तोकिएको छ । पहिलो १५ दिनमा दुबो रोप्ने काम सकिनेछ भने बाँकी ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने र क्षेत्रलाई पूर्ण रूपमा हराभरा बनाउने काम गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया