काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मत परिणाम आउने क्रम जारी छ ।
विभिन्न क्लस्टर र प्रदेशवाइज मतपरिणाम आइरहँदा धेरै युवाहरु केन्द्रीय समितिमा अटाएका छन् ।
ती मध्ये एक हुन् जनक चटौत । जो सुदूरपश्चिम प्रदेश खुला केन्द्रीय सदस्यमा प्रतिपष्र्धा गरेका थिए । जसअन्तर्गत ३ जना निर्वाचित हुनुपर्नेमा ९ जनाको उम्मेदवारी परेको थियो ।
तीमध्ये चटौत सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनले २ हजार ५ सय ३२ मत प्राप्त गरे । दोस्रो धेरै मत पाएर निर्वाचित भएका दिवान सिंह विष्टले १ हजार ८ सय ९ मत प्राप्त गरे भने तेस्रो भएर निर्वाचित भएका बहादुरसिंह थापाले १७ सय ९९ मत प्राप्त गरे ।
देउवाको विरासतमा धक्का दिएको चटौत
चटौत कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका व्यक्ति हुन् । विद्यार्थी राजनीतिमा हुँदा देउवासँगै रहेर राजनीति गरे पनि पार्टीभित्र पुस्तान्तरणको बहसले उनलाई गगन थापा र विश्वप्रकाश शर्मासँग नजिक गरायो ।
कांग्रेसको भ्रातृ संगठन नेविसंघमा रहेर काम गरी पार्टी राजनीतिमा हाम्फालेका नेता चटौत डडेल्धुराबाट देउवापछिको विरासत धान्ने नेताको रुपमा हेरिएका छन् ।
युवालाई राजनीतिमा ल्याउनुपर्छ भन्ने कुरालाई एड्भोकेसी गरिरहेका चटौत ती पात्र हुन्, जो विशेष महाधिवेशनमा एक्ला वृहस्पति जस्ता बनेका थिए । कांग्रेसका तत्कालीन महामन्त्रीद्वय गगन–विश्वको आह्वानमा भएको हुन लागेको विशेष महाधिवेशनमा हस्ताक्षर अभियान चल्यो ।
देउवाको गृहजिल्ला रहेका कारण पनि विशेष महाधिवेशनमा कोही हस्ताक्षर गर्न राजी भएनन् । चटौतले नै पहिलोपटक डडेल्धुराबाट विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेर देउवाको दशकौँको राजनीतिक विरासतमा धक्का दिए । पछि अर्का व्यक्तिलाई पनि महाधिवेशन हस्ताक्षरमा सामेल गराए ।
विशेष महाधिवेशन हुँदै १५औँ नियमित महाधिवेशनमा आइपुग्दा चटौतको विद्रोहले सार्थकता पाएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया