काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिव ९९ प्रतिशत स्थानमा विद्युत सेवा सुचारु भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।
मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले यस्तो जानकारी दिएका हुन् ।
उनकाअनुसार अब रसुवाका करिब ८० घरधुरीमा मात्र विद्युत जडान हुन बाँकी रहेको छ ।
उनले उक्त क्षेत्रमा विद्युत जडान गर्न प्रशारण लाइनसमेत निर्माण गर्नुपर्ने भएकाले तत्काल विद्युत सेवा सुचारु गर्न कठिन भएको बताए । उक्त क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जाको व्यवस्था गरिएको सचिव कर्माचार्यले बताए । उनले बाढीले क्षतिग्रस्त भएका जलविद्युत आयोजनाको पुनःनिर्माणका कार्ययोजना निर्माणको काम भइरहेको समेत बताए । उनले बाढीले निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित दर्जन बढी जलविद्युत आयोजनामा ठूलो क्षति भएको विवरण समेत समितिसमक्ष पेश गरे ।
उनले भने, ‘बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा करिव ९९ प्रतिशत क्षेत्रमा विद्युत सुचारु भइसकेको छ । अहिले रसुवाको करिव ८० घरधुरीमा मात्र विद्युत जडानको कार्य बाँकी छ । त्यहाँ नजिकै ट्रान्समिसन लाइनहरु समेत बनाउनुपर्ने भएको कारण हामीले तत्काल सम्भव नदेखेको हो । त्यो क्षेत्रको लागि हामीले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट सोलारको माध्यमबाट व्यवस्था गरेका छौँ । विद्युत आयोजनाको सुरुङमा हाम्रो ९ सय ९० जनाभन्दा बढी बेपत्ता भएका छन् । राज्यले अथक प्रयास गर्दा पनि जम्मा ३ जनाको मात्रै उद्धार गर्न सक्यो । बाँकी कोही पनि भेटिने सम्भावना पनि कम हुँदै गएको छ । अब हामीले उर्जा क्षेत्रको पुनःसंरचना निर्माणको लागि एउटा कार्ययोजना नै बनाउनुपर्नेछ ।’
उनले अगामी दिनमा नदी करिडोरका आयोजना जलवायु अुनकूल बनाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया