काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी श्यामकृष्ण खड्गीले आफू पार्टीलाई एक बनाएर लैजान सूधत्रारको रुपमा काम गर्ने बताएका छन् ।
गगन थापासँग सभापतिमा पराजित भएपछि नेता खड्गीले विज्ञप्ति जारी गर्दै पार्टीलाई एक बनाएर लैजानुपर्ने आवश्यक्ता रहेको बताए । अहिले अर्को समूहले छुट्टै महाधिवेशन गरिरहेको बताउँदै उनले स्थानीय निर्वाचनअघि नै उनीहरुलाई समेटेर लैजानुपर्ने बताए ।
‘अहिले अर्को पक्षले छुट्टै अधिवेशन गरे पनि स्थानीय चुनाव अघि नै उनीहरुलाई समेट्नुपर्ने दायित्व समेत नयाँ कार्यसमितिमाथि नै छ । जसका लागि म सूत्रधार नै बनेर सभापतिलाई सघाउने समेत यसै विज्ञप्तिमार्फत बाचा गर्दछु । कांग्रेस अव भागवण्डा र गुटरहित बन्नेकुरामा म विश्वस्त छु । तर विचार समूह र स्वस्थ प्रतिस्पर्धालाई हामीले सँधै खुला ढंगले स्वागत गर्नुपर्दछ,’ उनले भनेका छन् ।
१५औँ महाधिवेशनमा चर्चामा नै नरहेका खड्गीले उम्मेदवारी दिए, त्यसले धेरैलाई आश्चर्यचकित समेत पार्यो । सभापतिका अर्का आकांक्षी किशोरसिंह राठोरले उम्मेदवारी फिर्ता लिए पनि खड्गीले भने उम्मेदवारी कायम राखे र प्रतिष्पर्धा गरे ।
खड्गीले आफ्नो उम्मेदवारीको औचित्य स्पष्ट पार्दै त्यसको मुल मर्म आन्तरिक लोकतन्त्रको रक्षा रहेको बताएका छन् ।
उनले कांग्रेसमा लाग्दै आइरहेको कम्युनिष्टीकरण र रास्वपाकरणको आरोपलाई आफ्नो उम्मेदवारीले खण्डित गरेको दाबी गरे । साथै सभापतिमा निर्वाचित गगन थापामाथि लाग्न सक्ने आरोपलाई समेत आफ्नो उम्मेदवारीले मेटाइदिएको बताए ।
‘मेरो उम्मेदवारीले धेरैलाई चकित पारे पनि मेरो मूल मर्म भनेको आन्तरिक लोकतन्त्रको रक्षा नै थियो । उद्घाटन सत्रमा विभिन्न दलका नेताहरुको टिप्पणीबाट नै कांग्रेसको आन्तरिक लोकतन्त्र जोगाउनुपर्ने दवाव देखिन्थ्यो,’ उनले भने, ‘४ दशक लामो कांग्रेसको मेरो राजनीतिक यात्रामा यो कदम निकै चुनौतीपूर्ण नै थियो । तर कांग्रेसमाथि लाग्दै गरेको कम्युनिस्टकरण र रास्वपाकरणको आरोप मेरो उम्मेदवारीले खण्डित मात्र गरेको छैन, म पराजित भए पनि पार्टी सभापतिमाथि लाग्ने सक्ने कयौँ आरोपबाट बचाएको छ ।’
नेता खड्गीले सभापति थापालाई मत दिने नदिनेदेखि फरक विचार राख्ने र फरक धारमा उभिएकाहरुलाई समेटेर अघि बढ्न सुझाव दिए ।
‘गगनजी, अब तपाईं सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । तपाईंलाई मत दिने र नदिने, फरक विचार र धारमा रहनुभएका सबै साथीहरूलाई समेटेर अघि बढ्नुहोस् । कसैले आफूलाई पराइ महसुस गर्नु नपरोस्, सबैले पार्टीभित्र आफ्नो सम्मान र अपनत्व पाएको अनुभूति गर्न सकून्,’ उनले भने ।
१५औँ महाधिवेशनमा ६५ सय ८४ मत ल्याइ गगन थापा सभापति निर्वाचित हुँदा खड्गीले भने ३ सय ७५ मत प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया