नेपाल टेलिकमको दशैँ–तिहार अफरमा के–के छन् सुविधा ?

लोकपथ
973
Shares

काठमाडौं । नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै दशैँ–तिहार अफर २०८३’ ल्याएको छ । कम्पनीले यस अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडानमा छुट, मोबाइल डाटामा सहुलियत तथा भ्वाइस र एसएमएस प्याकेज उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन ।

त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा पाउनेछन् । यससँगै ग्राहकले १२ महिनाको मूल्यमा १३ महिनासम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् । बोनसमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म नै प्रयोग गर्न पाइनेछ ।

भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकले एक हजार रुपैयाँ छुट पाउने सुविधा पनि कायम रहने कम्पनीले जनाएको छ ।

मोबाइल सेवाअन्तर्गत ४९९ रुपैयाँमा दैनिक पाँच जीबी डाटासहितको फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा दैनिक १० जीबी डाटासहितको फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज उपलब्ध हुनेछ ।

पाँच जीबी डाटा सकिएपछि पहिलो प्याकेजमा बाँकी समय दुई एमबीपीएस गतिमा अनलिमिटेड डाटा चलाउन सकिनेछ । त्यस्तै, १० जीबी डाटा सकिएपछि प्रिमियम प्याकेजमा बाँकी समय तीन एमबीपीएस गतिमा इन्टरनेट प्रयोग गर्न सकिनेछ ।

कम्पनीले २५० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज र ९९ रुपैयाँमा एक हजार अननेट एसएमएससहितको ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि उपलब्ध गराउने भएको छ । यी मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ ।

मोबाइल प्याकेजको सुविधा लिन ग्राहकले असोज ३० देखि कात्तिक ३० गतेसम्म प्याकेज खरिद गर्न सक्नेछन् । त्यसका लागि मोबाइलबाट 141511# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सकिनेछ ।

नेपाल टेलिकमले चाडपर्वको समयमा ग्राहकलाई आफन्तसँग सम्पर्कमा रहन, खुसी साटासाट गर्न तथा डिजिटल सेवाको प्रयोग बढाउन यस्ता अफरले सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?