काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको १५औँ महाधिवेशनमा आफूले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गर्दै केसीले उम्मेदवारी नदिने निर्णय असन्तुष्टि, निराशा वा कुनै अडानका कारण नभएको स्पष्ट पारेका छन् ।
उनले आफू आगामी दिनमा पनि उत्साह र ऊर्जाका साथ पार्टीमा सक्रिय रहने बताएका छन् । व्यक्तिगत पदभन्दा पार्टीको एकता, संस्थागत सुधार र राष्ट्रिय एकताका लागि काम गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताएका छन् ।
केसीले १५औँ महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक र महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । देशभर देखिएको उत्साह र विशेषगरी युवापुस्तामा देखिएको नयाँ आशाले महाधिवेशनलाई महत्वपूर्ण अध्यायका रूपमा स्थापित गर्ने उनको भनाइ छ ।
गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले दिएको सन्देश र मार्गदर्शनलाई नियमित महाधिवेशनले पूर्णता दिनुपर्ने उनले बताएका छन् । विगतका कमजोरी, गुटबन्दी, गिरोहवाद र विकृतिको अन्त्य गर्दै कांग्रेसलाई पुरानो सामर्थ्य र गौरवसहित पुनः स्थापित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
महाधिवेशनले कांग्रेसलाई संस्थागत, विधिसम्मत, पारदर्शी र नीतिमुखी पार्टीका रूपमा अघि बढाउनुपर्ने केसीको भनाइ छ । बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा मुलुकलाई सही नेतृत्व दिनु र राष्ट्रिय एकता कायम गर्नु कांग्रेसको दायित्व रहेको उनले बताएका छन् ।
पार्टी एकताका लागि आफूले विगतमा पनि प्रयास गरेको र आगामी दिनमा पनि निरन्तर लागिरहने उनले बताएका छन् । एकता महाधिवेशनमा मात्र सीमित नभई निरन्तर चल्ने प्रक्रिया भएकाले सबैले उदार र फराकिलो सोच राख्नुपर्ने उनको भनाइ छ ।
कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै केसीले अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा नवप्रवर्तनलाई जोड्नुपर्ने बताएका छन् ।
नेतृत्व चयन गर्दा निष्ठावान् कार्यकर्ताको योगदान, जनप्रियता, योग्यता, सांगठनिक प्रतिबद्धता र युवाको सहभागितालाई आधार बनाउनुपर्ने उनले बताएका छन् । सम्भव भएसम्म सर्वसम्मतिको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके स्वस्थ, निष्पक्ष तथा गुटमुक्त प्रतिस्पर्धालाई स्वीकार गर्नुपर्ने उनको धारणा छ ।
‘लोकतन्त्रमा मत विभाजन हुन सक्छ, तर मन विभाजन हुनु हुँदैन’ भन्दै केसीले नेतृत्व चयनको प्रतिस्पर्धालाई दबाब, हस्तक्षेप र विचार लाद्ने प्रवृत्तिबाट मुक्त राख्न आग्रह गरेका छन् ।
कांग्रेसलाई गुटबन्दी, आन्तरिक फूट र भागबण्डाको राजनीतिबाट मुक्त गर्दै वैचारिक पुनर्जागरणसहित ‘नवीन र बदलिएको कांग्रेस’ निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया