वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित, प्रतिनिधि खुलामञ्च पुग्न सकेनन्

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने चौथो दिनको बन्द सत्र हावाहुरीसहितको वर्षाका कारण प्रभावित भएको छ ।

बिहान साढे १० बजेबाट सुरु गर्ने तयारी गरिएको बन्द सत्र केही ढिलाइ गरी साढे ११ बजेपछि सञ्चालन गर्ने तयारी भए पनि अचानक ठूलो वर्षा भएपछि प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

खुलामञ्चमा बन्द सत्र आयोजना गरिएको छ । तर वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू खुलामञ्च पुग्न सकेका छैनन् । बन्द सत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले बन्द सत्रमा प्रवेश खुला गरेको छ । खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा सहभागी हुन दिइने प्रवक्ता चालिसेले बताए । उनका अनुसार यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका लागि खुला गरिएको थियो ।

बन्द सत्रको प्रत्यक्ष प्रसारण कांग्रेसको फेसबुक पेजबाट गरिनेछ भने अन्य सञ्चारमाध्यमलाई समेत प्रत्यक्ष प्रसारण गर्न अनुमति दिइएको छ ।

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।

सोमबारदेखि नै ती प्रस्ताव तथा प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन् । छलफलका क्रममा पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायत विषयमा प्रतिनिधिहरूले सुझाव दिएका छन् ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा। सुरेश आचार्यका अनुसार सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले समेत छलफलमा सहभागिता जनाएका छन् ।

वर्षाका कारण केही ढिलाइ भए पनि बाँकी धारणा तथा सुझाव समेट्दै प्रस्ताव र प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ ।

सभापति थापाले सम्बोधन गर्ने

बन्द सत्रको छलफलपछि सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी गरिएको छ ।

राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ । सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको निर्वाचन समितिले राष्ट्रिय सभा गृहबाट निर्वाचनसम्बन्धी काम गरिरहेको छ । भोलि बिहान नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम छ । भृकुटीमण्डपमा भने महाधिवेशन प्रतिनिधिहरूका लागि खाना व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?