दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

लोकपथ
35
Shares

काठमाडौं । विश्व बैंकले सन् २०२६ मा दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंक समूहले मंगलबार सार्वजनिक गरेको पछिल्लो ‘साउथ एशिया इकोनोमिक अपडेट’ प्रतिवेदनमा यसअघि गरिएको अनुमानभन्दा दक्षिण एशियाको आर्थिक वृद्धि बढी हुने उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रमा विभिन्न चुनौती देखिए पनि दक्षिण एशियाको अर्थतन्त्रमा आन्तरिक माग, विप्रेषण आप्रवाह र संरचनात्मक सुधारका कारण सुधार भइरहेको छ ।

विश्व बैंकले सन् २०२७ मा भने दक्षिण एशियाको आर्थिक वृद्धि केही सुस्त भएर ६.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । दक्षिण एशियाली देशहरूमा मुद्रास्फीति बढ्नुका साथै वित्तीय अवस्था चुनौतीपूर्ण बन्दै गएकाले आर्थिक वृद्धि केही सुस्त हुनसक्ने विश्व बैंकको अनुमान छ ।

विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष जोहानेस जुटले कठिन परिस्थितिका बाबजुद दक्षिण एशियाले आर्थिक लचकता देखाएको बताएका छन् । तर, आर्थिक वृद्धिलाई निरन्तरता दिन र पर्याप्त रोजगारी सिर्जना गर्न नयाँ आर्थिक अवसरमा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार विश्वव्यापी रूपमा विस्तार भइरहेको कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादन तथा सेवा सञ्जालबाट लाभ लिन दक्षिण एशियाली देशहरूले दक्ष जनशक्ति तयार पार्न, पूर्वाधारमा लगानी बढाउन र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण बनाउन आवश्यक छ ।

प्रतिवेदनले दक्षिण एशियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित देशको तुलनामा अझै कमजोर रहेको देखाएको छ । भारतका करिब २३ प्रतिशत कम्पनीले एआई प्रयोग गरिरहेको बताएका छन् भने अमेरिकामा यस्तो अनुपात ४३ प्रतिशत रहेको छ । अझ स्तरीय प्रविधिमा आधारित एआई प्रयोगको अन्तर भने योभन्दा ठूलो रहेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, एआईको प्रयोगले दक्षिण एशियाली व्यवसायका लागि नयाँ बजार खोज्ने र निर्यातका अवसर विस्तार गर्ने सम्भावना बढाएको विश्व बैंकले जनाएको छ । विशेषगरी विश्वव्यापी एआई मूल्य शृंखलासँग जोडिएका दक्षिण एशियाली आपूर्तिकर्ताले यसको लाभ लिन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकले एआईलाई प्रविधिका रूपमा मात्र नभई उत्पादकत्व बढाउने र नयाँ रोजगारीका अवसर सिर्जना गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएको छ । एआईको प्रयोगबाट सार्वजनिक सेवा प्रवाहलाई समेत प्रभावकारी बनाउन सकिने सम्भावना दक्षिण एशियामा रहेको उसको भनाइ छ ।

स्वास्थ्य, शिक्षा र कृषिजस्ता क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले प्रविधिको प्रयोगबाट सेवा विस्तार गर्न सकिने विश्व बैंकले जनाएको छ । भारतमा किसानलाई एआईमा आधारित मौसम पूर्वानुमान उपलब्ध गराउने तथा बंगलादेशमा आँखाको रेटिनाको परीक्षणमा एआईको सहयोग लिने अभ्यासलाई प्रतिवेदनमा उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

तर, एआईको लाभ सबै नागरिकसम्म पुर्‍याउन स्थानीय आवश्यकता र अवस्थाअनुसार प्रविधिको विकास गर्नुपर्ने विश्व बैंकले सुझाव दिएको छ । सामान्य मोबाइल वा आधारभूत उपकरणमा चल्ने तथा कमजोर इन्टरनेट सुविधामा समेत प्रयोग गर्न सकिने एआई प्रणाली दक्षिण एशियाका लागि बढी उपयोगी हुने प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंक समूहकी एसिया क्षेत्रकी प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सोर्गेले एआईको प्रयोगले श्रम उत्पादकत्व बढाउन सहयोग पुग्ने बताएकी छन् । उनका अनुसार यसले निर्यातका अवसर विस्तार गर्न र सार्वजनिक सेवा सुधार गर्न समेत योगदान पुर्‍याउन सक्छ ।

तर, त्यसका लागि सरकारले प्रविधिको प्रयोगमा बाधा पुर्‍याइरहेका आधारभूत समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।

विश्व बैंकका अनुसार एआईबाट अधिकतम लाभ लिन दक्षिण एशियाली देशहरूले दक्ष जनशक्ति उत्पादन, डिजिटल तथा भौतिक पूर्वाधार विकास र व्यवसायमैत्री वातावरण निर्माणमा ध्यान दिन आवश्यक छ ।

साना तथा मझौला व्यवसायमा एआईको प्रयोग सहज बनाउन, स्थानीयस्तरमा प्रविधि विकासलाई प्रोत्साहन गर्न तथा एआईसम्बन्धी स्पष्ट नीतिगत र नियामकीय व्यवस्था लागू गर्नुपर्ने विश्व बैंकले जनाएको छ ।

त्यस्तै, तथ्यांकको सुरक्षा र गोपनीयता सुनिश्चित गर्दै एआईको प्रयोगसम्बन्धी दुविधा घटाउन सके व्यवसाय तथा उद्योगमा यसको उपयोग अझ बढाउन सकिने विश्व बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?