गुटको विकल्प नयाँ गुट होइन, विचार र नीतिको राजनीति हो : विश्वप्रकाश शर्मा

लोकपथ
7
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटगत परम्पराको अन्त्य गर्दै वैचारिक बहसको संस्कृति विकास गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्रलाई सम्बोधन गर्दै शर्माले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन गुटको विकल्पमा नीतिगत बहस र नागरिकको विश्वास जित्ने राजनीतिक संस्कार आवश्यक रहेको बताए ।

लोकतान्त्रिक पार्टीमा फरक मत, प्रश्न र विमतिलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिँदै उनले गुटको अन्त्य गर्नुको अर्थ विचारलाई निषेध गर्नु नभएको स्पष्ट पारे ।

उनले भने, ‘लोकतन्त्रमा फरक विचार र विमति स्वाभाविक हुन्छ । तर परम्परागत गुटको विकल्प नयाँ गुट होइन, विचार र नीतिको राजनीति हो । कांग्रेसभित्र प्रश्न, विमति र बहसलाई निषेध होइन, लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै नीतिगत बहसलाई अझ सशक्त बनाइनेछ ।’

शर्माले कांग्रेसले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, रोजगारी, कृषि, प्रविधि, पूर्वाधार, परराष्ट्र नीति, संघीयता र सामाजिक न्यायलगायतका विषयमा नीतिगत बहस गरिरहेको बताए ।

उनले राजनीतिक संस्कृतिमा आएको क्षय अचानक नभएको भन्दै यसको सुधारका लागि पनि समय लाग्ने बताए । विगतका अधिकांश राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले अब लोकतान्त्रिक संस्कृतिको पुनर्स्थापनाको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो ।

‘यो महाधिवेशन केवल नेतृत्व परिवर्तनको होइन, राजनीतिक संस्कार, संगठन र कार्यशैली परिवर्तनको महाधिवेशन हुनेछ,’ उनले भने, ‘चुनाव जित्नुभन्दा पहिले नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृति निर्माण गर्नु हाम्रो प्राथमिकता हो ।’

महाधिवेशनको मूल नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस’ रहेको उल्लेख गर्दै शर्माले नेतृत्व परिवर्तनसँगै पार्टीको सोच, शैली र चरित्रमा समेत आमूल परिवर्तन आवश्यक रहेको बताए ।

उनले पार्टीले चुनाव जित्ने तयारीलाई मात्र प्राथमिकता नदिई नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृति निर्माणमा जोड दिनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?