‘स्नेह मिलन’ : लामो समयको पारिवारिक विछोडपछि माया, आत्मीयता र खुसी साट्ने अवसर

लोकपथ
7
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले ‘स्नेह मिलन २०२६–सिजन १’ अभियान सञ्चालन गर्ने भएको छ ।

कतारमा लामो समयदेखि परिवारबाट टाढा रहेर काम गरिरहेका नेपाली श्रमिकलाई परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियानबारे जानकारी दिन शनिबार कतारको दोहास्थित गोर्खाली रेस्टुरेन्ट, मुन्तजामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । कार्यक्रममा कतारस्थित नेपाली संघ–संस्थाका प्रतिनिधि, एनआरएनए अभियन्ता, सामाजिक अभियन्ता, व्यवसायी, सञ्चारकर्मी तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो ।

एनआरएनए कतारका अनुसार अभियानअन्तर्गत छनोट हुने १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमणमा ल्याइनेछ । परिवारका सदस्यको हवाई टिकट, विमानस्थलमा स्वागत तथा बिदाइ, तारे होटलमा बसोबास र कतारका विभिन्न पर्यटकीय स्थलको भ्रमणको व्यवस्था गरिनेछ ।

अभियानको मुख्य प्रायोजन भिक्टोरिया गोल्ड एन्ड डायमन्डले गरेको छ भने क्युएफएम रेडियो नेटवर्कले सहकार्य गर्नेछ ।

कतारको विकासमा योगदान पुर्‍याइरहेका नेपाली श्रमिकको पारिवारिक भावना र आकांक्षालाई सम्मान गर्दै अभियान अघि बढाउन लागिएको एनआरएनए कतारले जनाएको छ । अभियान सफल बनाउन नेपाली समुदाय तथा सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको संघले बताएको छ ।

अभियानको छनोट प्रक्रिया र आगामी कार्यक्रमबारे थप जानकारी आधिकारिक सञ्चार माध्यममार्फत सार्वजनिक गरिने एनआरएनए कतारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?