रेड बुल १३औँ कृति अवार्ड्सअन्तर्गत ‘कृति कनेक्ट’ सम्पन्न

लोकपथ
7
Shares

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ ।

‘क्रियटिभिटी कनेक्ट, ह्वेर इट अल स्टार्ट्स’ नाराका साथ आयोजित कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनशीलता र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विभिन्न गतिविधि तथा छलफल गरिएको थियो ।

विगतमा कृति अवार्ड्सका क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा आयोजना हुँदै आएको कार्यक्रमलाई यस वर्ष गैर–सदस्य एजेन्सीलाई समेत सहभागी गराउँदै ‘कृति कनेक्ट’का रूपमा आयोजना गरिएको आनले जनाएको छ । कार्यक्रममार्फत कृति अवार्ड्सका मापदण्ड, प्रशासनिक प्रक्रिया तथा अन्य आवश्यक विषयमा सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकारले अवार्ड्सको उद्देश्य र उपादेयताबारे जानकारी दिए । आनका प्रथम उपाध्यक्ष उज्वल शाक्यले कृति अवार्ड्सको १३औँ शृंखलाका विभिन्न पक्षबारे प्रकाश पारे ।

त्यस्तै, हालसम्म सबैभन्दा धेरै कृति अवार्ड्स जितेको मेकवेज प्रालिका प्रमुख विधान राजभण्डारीले अवार्ड्स जित्न आवश्यक तयारी तथा प्रस्तुतिकरणका विषयमा सहभागीलाई जानकारी गराए ।

कार्यक्रममा नेपाली विज्ञापन उद्योगका समसामयिक विषय तथा सिर्जनात्मक बजारीकरणका विभिन्न आयाममा केन्द्रित छलफलसमेत गरिएको थियो ।

कार्यक्रमको समापनमा आनका अध्यक्ष सुदीप थापाले यस्ता कार्यक्रमले नेपालको विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई थप एकताबद्ध बनाउन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

रेड बुल मुख्य प्रायोजनमा आयोजना हुन लागेको रेड बुल १३औँ कृति अवार्ड्स २०८३ मा इनमार्क इन्डिया एन्ड एसोसिएट्स इन्फ्लुएन्सर एजेन्सीका रूपमा रहेको छ । जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेशनल कलेज ‘पावर्ड बाई’ प्रायोजक तथा एनसेल, प्राइम टाइल्सलगायत ब्रान्ड ‘सपोर्टेड बाई’ प्रायोजकका रूपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?