काठमाडौं । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवा एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केटप्लेस सञ्चालनमा आएको छ ।
डेली सेवा प्रालिले डिजिटल प्रविधिको प्रयोगमार्फत घरायसी तथा व्यावसायिक सेवाहरूलाई सहज, व्यवस्थित र पहुँचयोग्य बनाउने उद्देश्यले मोबाइल एप तथा वेबसाइट सञ्चालनमा ल्याएको हो । कम्पनीले ‘डेली सेवा’लाई नेपालको आफ्नै स्मार्ट डिजिटल बजारका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।
यस प्लेटफर्ममार्फत सेवाप्रदायक र सेवाग्राहीबीच सहज रूपमा सम्पर्क स्थापित हुने व्यवस्था गरिएको छ । कुनै पनि नेपाली नागरिकले आफूले प्रदान गर्न सक्ने सेवा वा व्यवसायको विवरण राखेर डेली सेवामा आबद्ध हुन सक्नेछन् । त्यस्तै, सेवाग्राहीले आफू रहेको स्थानबाट आवश्यक सेवा खोजी गरी लिन सक्ने कम्पनीले जनाएको छ ।
डेली सेवा एपमा घर निर्माण तथा मर्मत, विद्युतीय उपकरण मर्मत, सीप तथा तालिम, विशेषज्ञ सेवा, ग्याजेट तथा प्राविधिक सहयोग, अनकल सेवा, लजिस्टिक्स तथा ढुवानी, किचन तथा क्लिनिङलगायत विभिन्न क्षेत्रका सेवा उपलब्ध छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश न्यौपानेका अनुसार दैनिक जीवन, घर, व्यवसाय तथा विशेषज्ञ आवश्यकतासँग सम्बन्धित सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यले डेली सेवा विकास गरिएको हो ।
‘कुनै पनि व्यक्तिले आफूलाई आवश्यक परेको सेवा घरै बसी–बसी लिन सक्ने भएकाले समय र श्रमको बचत हुने अपेक्षा गरिएको छ,’ उनले भने, ‘डेली सेवा एपमा हाल १० विधाका १०० भन्दा बढी सेवा उपलब्ध गराइएका छन् ।’
डेली सेवाले दक्ष, अर्धदक्ष तथा अदक्ष जनशक्तिलाई रोजगारी तथा व्यवसाय विस्तारको अवसर प्रदान गर्ने लक्ष्यसमेत लिएको छ । प्लेटफर्ममा आबद्ध सेवाप्रदायकले डिजिटल माध्यमबाट आफ्नो सेवा प्रवर्द्धन गर्दै थप सेवाग्राहीसम्म पुग्ने अवसर पाउने कम्पनीको विश्वास छ ।
सेवाप्रदायकको छनोट तथा व्यवस्थापनमा विश्वास, गुणस्तर र व्यावसायिकतालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । सेवाग्राहीले सेवा लिएपछि त्यसको मूल्यांकन गर्न सक्ने प्रणालीसमेत प्लेटफर्ममा राखिएको छ ।
नेपालमा डिजिटल अर्थतन्त्र तथा प्रविधिमा आधारित व्यवसायको विस्तारसँगै अनलाइनमार्फत सेवा खोज्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा त्यसलाई लक्षित गर्दै डेली सेवा सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।
हाल काठमाडौं उपत्यकाबाट सेवा सुरु गरेको डेली सेवाले ‘नेपालकै आफ्नै डिजिटल मार्केटप्लेस’को अवधारणासहित छिट्टै देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया