म्याक्स इन्टरनेसनलको कारोबार ५२ प्रतिशतले बढ्यो

लोकपथ
7
Shares

काठमाडौं । डेल ल्यापटप र सर्भरको अधिकृत विक्रेता म्याक्स इन्टरनेसनलको कारोबारमा उल्लेख्य सुधार भएको छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा चर्को प्रतिस्पर्धा रहे पनि बजारमा माग बढ्नु र कम्पनीले नयाँ उत्पादन थप्नुका कारण आर्थिक वर्ष २०२६ मा कम्पनीको सञ्चालन आम्दानी करिब ५२ प्रतिशतले बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२४ मा २ अर्ब ७ करोड ४० लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०२५ मा घटेर १ अर्ब ७५ करोड ४० लाख रुपैयाँमा सीमित भएको आम्दानी २०२६ मा भने बढेर २ अर्ब ६७ करोड १० लाख रुपैयाँ पुगेको छ ।

कारोबार बढे पनि आईटी सामग्रीको व्यापारमा नाफा दर भने कम रहेको छ । आर्थिक वर्ष २०२५ मा ऋणात्मक रहेको कम्पनीको सञ्चालन नाफा दर २०२६ मा सुधार भएर ४।६४ प्रतिशत पुगेको छ ।

कम्पनीको नाफामा सुधार आए पनि लागत बढ्ने र बजारको मागमा उतारचढाव आउने जोखिम भने कायम छ । यसले कम्पनीको खुद नाफा र नगद प्रवाहमा दबाब पर्न सक्ने देखिएको छ ।

व्यवसाय विस्तारसँगै कम्पनीको बैंक कर्जामाथिको निर्भरता पनि बढेको छ । आर्थिक वर्ष २०२५ मा ऋणात्मक रहेको ब्याज कभरेज अनुपात २०२६ मा सुधार भएर १.४९ गुणा पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ मात्र रहेको छ। यसको कुल ऋण र खुद सम्पत्तिको अनुपात (गेयरिङ रेसियो) २०२५ को २.५३ गुणाबाट बढेर २०२६ मा २.९४ गुणा पुगेको छ ।

म्याक्स इन्टरनेसनलको व्यवसाय मुख्य रूपमा कार्यपुँजीमा निर्भर छ । ग्राहकलाई लामो समयको उधारोमा सामान बिक्री गर्ने भएकाले रकम उठ्न केही समय लाग्ने गरेको छ । यद्यपि, रकम उठ्ने अवधि २०२५ को १८० दिनबाट घटेर २०२६ मा १२३ दिनमा झरेको छ ।

त्यस्तै, कम्पनीको मौज्दात राख्ने अवधि २२ दिन र आपूर्तिकर्तालाई भुक्तानी गर्ने अवधि २४ दिन रहेको छ । कम्पनीको कुल सञ्चालन चक्र १२२ दिन र चालु अनुपात १.२७ गुणा रहेको छ ।

प्रविधिमा छिटो परिवर्तन हुने, पुराना उत्पादनको माग घट्न सक्ने तथा बैंकको ब्याजदर परिवर्तन भइरहने जोखिम कम्पनीमा रहेको छ । तर, लामो समयदेखिको व्यावसायिक अनुभव र अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्यले कम्पनीको व्यवसायलाई सहयोग पुगेको छ ।

यिनै पक्षलाई मूल्यांकन गर्दै क्रेडिट रेटिङ एजेन्सी केयररेटिङ्स नेपालले म्याक्स इन्टरनेसनलको १ अर्ब १५ करोड ८६ लाख ७० हजार रुपैयाँ बराबरको बैंकिङ सुविधाको रेटिङ पुनः पुष्टि गरेको छ ।

जसअनुसार २ करोड ८६ लाख ७० हजार रुपैयाँको दीर्घकालीन बैंकिङ सुविधालाई ‘केयर–एनपी बीबी माइनस’ र १ अर्ब १३ करोड रुपैयाँको अल्पकालीन बैंकिङ सुविधालाई ‘केयर–एनपी ए फोर’ रेटिङ दिइएको छ ।

सन् २००६ मा स्थापना भएको म्याक्स इन्टरनेसनलको एकल स्वामित्व शहिना हुसेनसँग रहेको छ भने अकबर हुसेनले कार्यकारी नेतृत्व गरिरहेका छन् ।

कम्पनीले डेलसँगै ओराकल, लेनोभो, माइक्रोसफ्ट, एचपी, सिस्को, आईबीएमलगायत २५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका १ हजारभन्दा बढी प्रविधिजन्य सामग्री तथा आईटी पूर्वाधारसम्बन्धी सेवा नेपालका सरकारी, निजी, बैंकिङ तथा कर्पोरेट क्षेत्रमा बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?