काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ ।
सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । बैंकले समीक्षा अवधिमा ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो । बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनी, ग्राहक, नियामक निकाय तथा शुभेच्छुकको सहयोगका कारण बैंकले दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए । उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशन पालना गर्दै बैंकलाई सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
ग्राहकलाई थप सहज र आधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङमा लगानी बढाउने जानकारी पनि उनले दिए ।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले हाल देशका ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।
बैंकले विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउन बैंकले सेवा दिँदै आएको जनाएको छ ।
यसैगरी, हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व र कर्मचारीको एक दिनको तलबसमेत गरी ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया