सशस्त्रका एआईजी दाहालको म्याद थपका लागि मुख्यालयद्वारा गृह मन्त्रालयमा पत्राचार

लोकपथ
1.1k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र प्रहरी अतिक्ति महानिरीक्षक (एआईजी) बंशीराज दाहालको म्याद थपका लागि गृह मन्त्रालयमा पत्राचार गरेको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) (२)उपनियममा भएको व्यवस्थाअनुसार सशस्त्र मुख्यालयले बुधबार एआईजी दाहालको एक वर्ष म्याद थपका लागि पत्राचार गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका एआईजी/डीआईजीको पदावधि चार वर्षको रहेको छ । तर, नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।

हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी दाहाल म्याद थप भएको अवस्थामा २०८४ असोज २७ गतेसम्म बहाल रहनेछन् । म्याद थप नभए यही असोज २७ गते अवकाशमा जानेछन् ।

२०७९ साल असोज २८ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवासँगै दाहाललाई सशस्त्र प्रहरी सीमा विभागमा पदस्थापना गरिएको थियो । २०७९ साल असोज ६ गते बसेको बढुवा सिफारिस समितिको बैठकले उनलाई एआईजीमा सिफारिस गर्ने निर्णय लिएको थियो ।

उनलाई बढुवा गर्नुअघि सशस्त्र प्रहरीमा दुई वटा मात्र विभाग थियो–मानवस्रोत र कार्य । उनलाई बढुवा गरेपछि सीमा विभाग पुनः ब्युँत्याइएको थियो ।

त्यसबेला पैसा खुवाएर दरबन्दी किनेको आरोप उनीमाथि लागेको थियो । त्यसबेला प्रधानमन्त्री शेरबहादुर देउवा थिए । २०७९ साल मंसिरमा हुन गइरहेको संसदीय निर्वाचनको केही दिनअघि मात्र उनलाई नयाँ दरबन्दी ल्याएर बढुवा गरिएको थियो ।

२०५४ साल चैत १८ गते प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका दाहालले २०५८ मा सशस्त्र प्रहरी बल स्थापना भएपछि सेवा स्थानान्तरण गरेका थिए । उनी सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल, निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका ब्याचमेट हुन् । नेपाल प्रहरीको १११ औं टोलीका प्रहरी निरीक्षकमध्ये पौडेल, अर्याल, दाहाल, शम्भु सुवेदी र अर्का एक जना गरी ५ जना सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । ती पाँचमध्ये एक जनाले बीचैमा राजीनामा दिँदा सुवेदी पदावधिका कारण डीआईजीबाट अवकाश भए । अन्य दुई जना नेतृत्वमा पुग्दा दाहाल भने एआईजी छन् ।

दाहाललाई सशस्त्र प्रहरीमा विवादास्पद अधिकृतका रुपमा चिनिन्छ । नम्बर १ बराह बाहिनीको बाहिनीपति हुँदा तस्करसँग मिलेमतो गरेको, बाहिनी मातहतका गण र गुल्मका प्रमुखलाई दिनुसम्मको दुःख दिएको, एआईजी भइसकेपछि पनि तस्कर र बिचौलियासँग मिलेर काम गरेको आरोप उनीमाथि छ ।

यति मात्र नभई नेपाल सरकारको विशिष्ट श्रेणीको पद एआईजीमा कार्यरत उनीमाथि एसपी हुँदा एक महिला प्रहरी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । नीलबाराही गणको गणपति रहेका बेला २०६८ सालमा उनले एक महिला प्रहरी जवानलाई कोठामा बोलाएर भित्रबाट चुकुल लगाएका थिए । त्यसबेला ती महिला प्रहरी जवान उनलाई धकेल्दै ढोका खोलेर भाग्न सफल भएकी थिइन् ।

त्यसबेलाका जानकार स्रोतहरुका अनुसार, त्यस दिन उनले सिनामंगल गणमा बसेर मदिरा सेवन गरेका थिए । मातिएकै अवस्थामा साँझतिर बलम्बुस्थित गणमा पुगेका उनले आफ्ना एक सशस्त्र कर्मचारीलाई ती महिला प्रहरी जवानलाई गणपति निवासमा बोलाउन भनेका थिए । डराउँदै ती महिला पहरी जवान आफ्ना एक जना साथीलाई लिएर गणपति निवास पुगेकी थिइन् । उनी गणपति निवास छिर्नेबितिक्कै यो हर्कत भएको थियो ।

त्यसबेला सशस्त्र प्रहरी महानिरीक्षक थिए शैलेन्द्रकुमार श्रेष्ठ । श्रेष्ठ ८ महिना १६ दिन सशस्त्र प्रहरी महानिरीक्षक भएका थिए । आफ्नो कार्यकालमा यो तहको बदमासी भएपछि सशस्त्र प्रहरीका छैठौं महानिरीक्षक श्रेष्ठले दाहाललाई २०६८ साल माघ १० गते गणपतिबाट फिर्ता बोलाई छानबिन समितिसमेत गठन गरेका थिए । छानबिन समितिको प्रतिवेदनपछि दाहाललाई नसियत दिइएको थियो । २०६८ चैत २८ मा अवकाशमा जानु केही दिनअघि तिनै आईजीपी श्रेष्ठले उनीमाथिको कारबाही फिर्ता लिएका थिए ।

दाहाल २०७६ साल माघ १३ गते डीआईजी बनेका थिए । त्यसबेला कृष्णभक्त ब्रम्हाचार्य, वंशीराज दाहाल, हरिशंकर बुढाथोकी, इन्जिनियर किशोर प्रधान र राजेन्द्र बस्नेत डीआईजीमा बढुवा भएका थिए । यो मितिमा डीआईजी बनेकाहरु सबै अवकाशमा गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?