बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । जिल्लामा निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोका कारण जिल्लामा ६१ घर तथा गोठ बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
बाढीले ५१ घर र १० गोठ बगाएको प्रशासनले जनाएको छ । दरमखोलाको कटानका कारण गलकोट नगरपालिका–९ को वडा कार्यालयसमेत बगेको छ । यस्तै, तीनवटा झोलुङ्गे पुल बगेका छन् भने दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुईवटा जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ । एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा समेत क्षति भएको छ । विपद्का कारण २५६ वटा पशुचौपाया क्षति भएका छन् भने २१५ वटा कुखुरा मरेका छन् ।
निसीखोला गाउँपालिका–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन् । पहिरोमा परी चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ ।
तमानखोला गाउँपालिका–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बडिगाड गाउँपालिका–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वडा नं. ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ ।
ढोरपाटन नगरपालिका–७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ । तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको छ ।
यस्तै, गलकोट नगरपालिका–१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ । काठेखोला गाउँपालिका–१, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको प्रशासनले जनाएको छ ।
बाढीपहिरोमा परी मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन् । तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको जिल्ला प्रहरी प्रमुख फणिन्द्र प्रसाईंले जानकारी दिए ।
निसीखोलाका प्रभावितलाई राहत
बाढीपहिरोबाट प्रभावित निसीखोला गाउँपालिकाले पीडित परिवारलाई नगद तथा खाद्यान्न राहत उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार मानवीय तथा भौतिक क्षति भएपछि तत्कालै प्रभावित परिवारलाई राहत वितरण गरिएको हो ।
गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराएको छ। मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार रुपैयाँ र जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले राहत दिइएको छ ।
निसीखोलामा बाढीपहिरोमा परी मृत्यु भएका पाँच जनाका परिवारलाई ५० हजार रुपैयाँका दरले नगद राहत दिइएको छ । घर पूर्ण रूपमा क्षति भएका २४ परिवारलाई ३० हजार रुपैयाँका दरले तथा घरमा आंशिक क्षति भएका २१ परिवारलाई १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
निसीखोलामा बाढीपहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घर पूर्ण रूपमा क्षतिग्रस्त र २१ घर उच्च जोखिममा परेका छन् । प्रभावित परिवारलाई चामल तथा त्रिपालसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया