हिमालय एयरलाइन्सले पुनः सुरु गर्‍यो काठमाडौं-सांघाई सिधा उडान, सातामा दुई उडान हुने

लोकपथ
0
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं नियमित सिधा उडान पुनः सुरु गरेको छ ।

एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान सेप्टेम्बर २८ देखि पुनः सञ्चालनमा ल्याएको हो ।

प्रारम्भिक चरणमा सातामा दुईवटा उडान हुनेछन् । काठमाडौं–सांघाई उडान सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ ।

काठमाडौं–सांघाई उडान साँझ ६ः२५ बजे काठमाडौंबाट प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ । त्यस्तै, सांघाईबाट बिहान ३ बजे प्रस्थान गरेको विमान बिहान ७ः१० बजे काठमाडौं आइपुग्नेछ । उडानका सबै समय स्थानीय समयअनुसार हुन् ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले सिधा उडान पुनः सञ्चालनले नेपाल र चीनबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने बताए ।

यात्रुको माग र उडानमा हुने यात्रुको चापका आधारमा आगामी दिनमा उडान संख्या बढाउने एयरलाइन्सले जनाएको छ ।

मुख्य पर्यटकीय सिजन सुरु भएसँगै उडान पुनः सञ्चालन भएकाले चीनबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने अपेक्षा एयरलाइन्सले गरेको छ । एयरलाइन्सले काठमाडौं र सांघाईबीच यात्रुलाई सहज सिधा हवाई सेवा उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?