काठमाडौं । वर्षा रोकिए पनि पहिरोको जोखिम तत्काल नहट्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि केही दिन पहिरोको जोखिम कायमै रहने बताइन् । उनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेकी छन् ।
महतका अनुसार अहिले मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो हो । नदी कटानका कारण केही बस्ती जोखिममा पर्न सक्ने भन्दै उनले बाढी र पहिरोको जोखिम अझै नटरेको बताइन् ।
लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा राजमार्ग तथा ग्रामीण सडक पहिरोका कारण अवरुद्ध भएका छन् । सडक खुलाउन सडक विभागले २५० भन्दा बढी उपकरण विभिन्न स्थानमा तयारी अवस्थामा राखेको उनले जानकारी दिइन् ।
वर्षा कम हुँदै गएपछि सडक खुलाउने कामलाई तीव्रता दिइने उनले बताइन् । कतिपय स्थानमा भने अवरुद्ध सडक सञ्चालनमा आइसकेको महतको भनाइ छ ।
उनका अनुसार आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्न सक्ने र बाढी तथा पहिरोको जोखिम कायमै रहनेछ ।
महतले घाम लाग्न थालेपछि पनि माटोमा पानीको मात्रा धेरै रहेकाले भोलि–पर्सिसम्म पहिरो जाने सम्भावना रहने बताइन् । त्यसैले वर्षा रोकिएपछि पनि जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया