चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार आइतबार बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजे पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको हो ।
सडक सञ्चालनमा आएसँगै पोखराबाट नारायणगढतर्फ र नारायणगढबाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन् ।
तर, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ । त्यहाँ सडक छेउसमेत भासिएको छ ।
बेनिघाट बजारनजिक गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ । कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
त्यस्तै, ज्यामिरेघाट चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । हुग्दी खोलादेखि जवाङखोलासम्म विभिन्न स्थानमा ढुङ्गासहितका साना पहिरो खसेका छन् ।
फिस्लिङ आसपासका तीन स्थानमा करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ । त्यहाँ करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ ।
चुम्लिङटारमा पनि ढुङ्गासहितको पहिरो खसेको छ । धारापानीका दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले बताए ।
धारापानीमै कल्भर्ट खुलाउने काम भइरहेको छ । घोप्टेभीर र सिमलधारामा ठूला ढुङ्गा तथा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
अहिले सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ । ठूलो पहिरो नखसेमा साँझसम्म सडक सञ्चालनमा ल्याउने तयारी रहेको इञ्जिनियर मिश्रले जानकारी दिए । पहिरो पन्छाउन सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरणसमेत प्रयोग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया