ललितपुर । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित झटाकाली मन्दिरको सार्वजनिक जग्गा अतिक्रमण गरी शौचालय निर्माण गर्न खोजिएपछि महानगर प्रहरीले निर्माण कार्य रोकेको छ ।
महानगरपालिकाको स्वीकृति तथा वडा कार्यालयको अनुमति नलिई सार्वजनिक स्थानमा शौचालय निर्माण गर्न लागिएको सूचना पाएपछि महानगर प्रहरी टोलीले शनिबार निर्माणस्थलमा पुगेर निर्माण सामग्री नियन्त्रणमा लिएको हो ।
ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार बिदाको दिन पारेर निर्माण कार्य भइरहेको अवस्थामा टोली त्यहाँ पुगेको थियो । निर्माणका लागि खाल्डो खनिसकिएको अवस्थामा भेटिएपछि काम रोकाइएको उनले बताए ।
‘स्वीकृति नलिई सार्वजनिक ठाउँमा निर्माण गर्न पाइँदैन । निर्माण सामग्री नियन्त्रणमा लिएर काम बन्द गराएका छौँ,’ उनले भने, ‘निर्माणका लागि खनिएको खाल्डो पनि जेसीबी लगाएर पुर्ने तयारी गरेका छौँ ।’
स्थानीय सरोकारवालाको सहमति र सम्बन्धित निकायको स्वीकृतिबिनै निर्माण अघि बढाइएको भन्दै स्थानीयले समेत आपत्ति जनाएका छन् । यसअघि पनि सोही मन्दिर परिसरमा पुजारी घर बनाउँदा सडक अतिक्रमण गरिएको विषय उठेको थियो ।
हाल शौचालय निर्माणका लागि समेत सडक तथा सार्वजनिक क्षेत्र प्रयोग गर्न खोजिएको आरोप स्थानीयको छ ।
यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको देखिन्छ । आयोगलाई पठाइएको निवेदनमा ललितपुर महानगरपालिका–२५ स्थित झटाकाली मन्दिरको सार्वजनिक जग्गा तथा सडक क्षेत्र अतिक्रमण गरी पुजारी घर र अहिले शौचालय निर्माण गर्न खोजिएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया