कांग्रेस संस्थापन इतर पक्षले बुझायो ७ लाख ८३ हजार क्रियाशील सदस्यको विवरण

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाएको छ ।

शनिबार काठमाडौंको चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा। शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सदस्यताको विवरण हस्तान्तरण गरिएको हो ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार यसपटक ५ लाख ७३ हजार २ सय ६९ जना पुराना सदस्यको सदस्यता नवीकरण गरिएको छ । यस्तै, २ लाख १० हजार ५ सय ६७ जना नयाँ सदस्य थपिएका छन् ।

यसरी नवीकरण र नयाँ सदस्य गरी कुल ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यको विवरण तयार पारिएको पौडेलले जानकारी दिए ।

उनका अनुसार अघिल्ला महाधिवेशनमा क्रियाशील सदस्यताको विवादका कारण अधिवेशन प्रभावित हुने गरेको थियो । यसपटक त्यस्ता समस्या नआओस् भनेर सदस्यताको विवरण व्यवस्थित गरी निर्वाचन समितिलाई हस्तान्तरण गरिएको हो ।

कांग्रेसले पार्टीको सांगठनिक सुदृढीकरण तथा महाधिवेशन प्रक्रियालाई व्यवस्थित बनाउन यसपटक डिजिटल प्रविधिलाई प्राथमिकता दिएको जनाएको छ । सोही क्रममा क्रियाशील सदस्यता वितरण तथा नवीकरणलाई सहज बनाउन नयाँ वेबसाइटसमेत सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिका संयोजक एकराज पोखरेलले तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनका अनुसार आगामी १५ गतेदेखि देशभरका वडामा अधिवेशन सुरु हुनेछ । अधिवेशनको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।

अब नयाँ क्रियाशील सदस्यता लिन चाहनेले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले चार दिनको छोटो अवधिमा वेबसाइट निर्माण गरिएको र त्यसमा उच्चस्तरको साइबर सुरक्षा व्यवस्था गरिएको दाबी गरे । हाल नयाँ सदस्यताका लागि लक्षित गरिएको वेबसाइटलाई भविष्यमा थप व्यवस्थित गर्दै लैजाने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?