सीले ट्रम्पलाई भने- ‘ताइवान मामिलामा सावधानी अपनाउनुस्’

लोकपथ
63
Shares

वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषयमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

ह्वाइट हाउसमा बिहीबार भएको भेटमा सीले चीनको राष्ट्रिय एकता र क्षेत्रीय अखण्डताको रक्षा गर्नु चीनको स्पष्ट अडान रहेको बताएका हुन् ।

उनले अमेरिकालाई ‘ताइवान स्वतन्त्रता’को विरोध गर्ने नीतिमा कायम रहन आग्रह गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ताइवानको विषय चीन र अमेरिकाबीचको सबैभन्दा संवेदनशील मुद्दामध्ये एक हो । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ । तर ताइवान आफ्नै सरकार र शासन व्यवस्था भएको स्वशासित लोकतन्त्रका रूपमा सञ्चालन हुँदै आएको छ । अमेरिकाले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध राखे पनि ताइवानको आत्मरक्षाका लागि सहयोग गर्दै आएको छ ।

भेटपछि पत्रकारसँग कुरा गर्दा ट्रम्प र सी दुवैले ताइवानबारे भएको छलफलबारे स्पष्ट जानकारी दिएनन् । ट्रम्पले भेटलाई ‘उत्कृष्ट’ भने पनि ताइवान, कृत्रिम बुद्धिमत्ता (एआई) र हङकङका सञ्चार उद्यमी जिमी लाइबारे सोधिएका प्रश्नको जवाफ दिएनन् ।

तर चीनको सरकारी विवरणमा भने सीले वार्ताका क्रममा ताइवानको विषय उठाएको उल्लेख छ ।

एआईमा सहकार्य गर्न सीको आग्रह

सीले अमेरिका र चीनबीच कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा संवाद र सहकार्य बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।

एआई विकासमा दुवै देशसँग क्षमता रहेको भन्दै उनले यसको फाइदा र जोखिमबारे निरन्तर संवाद आवश्यक रहेको बताए । एआईको दुरुपयोग रोक्न दुवै देशले मिलेर काम गर्नुपर्ने र यसको विकास मानवकेन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

ट्रम्पले पनि एआई भविष्यसँग जोडिएको महत्वपूर्ण विषय भएकाले अमेरिका र चीनबीच संवाद र सहकार्य जारी राख्नुपर्ने बताएका छन् ।

व्यापारिक सम्बन्धमा पनि छलफल

वार्तामा अमेरिका–चीन व्यापारिक सम्बन्धलाई स्थिर बनाउने विषयमा पनि छलफल भएको थियो । सीले यसअघि भएको समझदारी कार्यान्वयन गर्दै सहयोगका क्षेत्र विस्तार गर्न र विवादका विषय घटाउनुपर्ने बताएका छन् । ट्रम्पले पनि दुवै देशका आर्थिक तथा व्यापारिक टोलीबीच पछिल्लो छलफलबाट प्रगति भएको बताएका छन् ।

दुई देशबीच व्यापारिक तनाव केही कम भए पनि प्रविधि, शुल्क, बजार पहुँच र रणनीतिक प्रतिस्पर्धाका विषयमा मतभेद कायमै छन् ।

वार्तामा मध्यपूर्व, युक्रेन संकट र कोरियाली प्रायद्वीपको अवस्थाबारे पनि छलफल भएको चीनले जनाएको छ । सीले अमेरिका र इरानलाई संवाद तथा वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।

त्यस्तै, सन् २०२६ मा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक र जी–२० शिखर सम्मेलन आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने सहमति भएको जनाइएको छ ।

छ महिनाभन्दा कम अवधिमा सी र ट्रम्पबीच यो दोस्रो भेट हो। यसअघि उनीहरू मेमा बेइजिङमा भेटेका थिए । पछिल्लो भेटमा व्यापार, एआई र क्षेत्रीय सुरक्षाका विषयमा संवाद जारी राख्ने सहमति देखिए पनि ताइवानसम्बन्धी अमेरिकी नीतिमा परिवर्तन भएको सार्वजनिक विवरणमा उल्लेख छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?